माग भएअनुसार रासायनिक मल उपलब्ध हुने

काठमाण्डु टुडे २०७१ असार २५ गते ११:०७ मा प्रकाशित

काठमाण्डु, २५ असार – वर्षासँगै सुरु हुने धान रोपाइँको समयमा सरकारले पर्याप्तमात्रमा रासायनिक मल उपलब्ध गराउन सबै तयारी पूरा गरेको जनाएको छ ।

ureaकृषि विकास मन्त्रालयले कृषि विकास सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्री गर्दै आएको रासायनिक मल कुनै पनि क्षेत्रमा कमी हुन नदिने तयारी गरेको हो ।

कृषि विकास मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुईंटेलले रासायनिक मलको आपूर्तिमा मन्त्रालयले विशेष ध्यान दिएको उल्लेख गर्दै यसवर्ष कृषकले सहजरुपमा रासायनिक मल पाउने व्यवस्था मिलाइएको बताए ।

कृषि सामग्री केन्द्र लिमिटेडमा हाल ११ हजार ५०० मेट्रिक टन युरिया मौज्दात रहेको छ भने १९ हजार टन डिएपी र तीन हजार २०० टन पोटास मल मौज्दात रहेको छ । सोही मात्रामा साल्ट ट्रेडिङसँग पनि मौज्दात रहेको जनाइएको छ ।

सहप्रवक्ता लुईंटलका अनुसार अहिले भएको मौज्दातले कृषकको मागलाई धान्न सक्छ भने भारतबाट आउँदै गरेको मलले अझै थप सहयोग पुग्नेछ । असार र साउनमा सबैभन्दा बढी रासायनिक मलको माग हुने गर्दछ ।

कृषि सामग्री केन्द्र लिमिटेडका वितरण महाशाखाका प्रबन्धक अच्युत पौडेलले साउनको १५ सम्ममा नेपाल आइपुग्ने ३५ हजार टन युरिया नेपाल आइपुग्ने भएकाले त्यसले अझ सहज हुने जानकारी दिए ।

चालु आर्थिक वर्षमा केन्द्रले एक लाख ९० हजार टन मल बिक्री गरिसकेको छ । त्यसमध्ये सबैभन्दा बढी एक लाख १४ हजार युरिया मल बिक्री भएको केन्द्रले जनाएको छ ।

रोप्ने र गोड्ने समयमा सबैभन्दा बढी माग हुने भएकाले त्यसलाई ध्यान दिएर उक्त मल आयात गर्न लागिएको हो । प्रबन्धक पौडेलका अनुसार कतैबाट मल अभावको गुनासो आएको छैन । पाँचै विकास क्षेत्रमा कृषकले उत्साहपूर्वक मल खरिद गरिरहेका छन् ।

विशेष कृषि उत्पादन कार्यक्रमअन्तर्गत प्रमुख खाद्यान्न बालीको उत्पादन वृद्धिको तथा खाद्य सुरक्षाको प्रत्याभूतिका लागि रासायनिक मल र प्राङ्गारिक मलमा दिइँदै आएको अनुदानलाई निरन्तरता दिई आगामी आर्थिक वर्षमा दुई लाख ५५ हजार टन रासायनिक मल आयात गर्न रु पाँच अर्बभन्दा बढी रकम अनुदान दिने भएकोे छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us