५० प्रतिशत अनुदानमा कृषि उपकरण सहयोग

काठमाण्डु टुडे २०७१ असार २५ गते ७:०६ मा प्रकाशित

म्याग्दी, २५ असार – जिल्ला कृषि विकास कार्यालय म्याग्दीले विभिन्न कार्यक्रमअन्तर्गत कृषकलाई अनुदान सहुलियतमा कृषि उपकरण वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मा र वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले एक कार्यक्रमकाबीच कृषि कार्यालयले अनुदान सहयोगमा उपलब्ध गराएको आठ वटा मिनी टिलर ( हाते हलो) एउटा पाउर टिलर, पाँचवटा कोदो चुट्ने मेसिन, दुई वटा अन्न बताउने पङ्खा र २५ थान मकै छोडाउने मेसिन सम्बन्धित कृषकलाई हस्तान्तरण गरेका हुन् ।

मध्यपहाडी बृहत्तर मकै उत्पादन कार्यक्रम लागू भएका गाविसअन्तर्गत पात्लेखेत व्यावसायिक कृषि सहकारी संस्था, रत्नेचौर कृषि सहकारी संस्था, मालिका व्यावसायिक कृषि सहकारी बानियाँचौर, अर्मन बहुउद्देश्यीय सहकारी संस्था र प्रगतिशील कृषक समूह हिस्तानलाई एक÷एकवटा मिनी टिलर ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको कार्यालयका प्राविधिक सहायक रमेश खड्काले जानकारी दिए ।

उहाँका अनुसार सोही कार्यक्रमअन्तर्गत २५ वटा मकै छोडाउने मेसिन आठवटा कृषि सेवा केन्द्र तथा सम्पर्क स्थलमार्फत ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।

त्यसैगरी एकीकृत जल तथा बाली व्यवस्थापन कार्यक्रमअन्तर्गत बाली व्यवस्थापन कार्यक्रम लागू भएको बाबियाचौर गाविसमा रहेका कृषक समूहलाई एउटा पाउर टिलर, तीनवटा मिनी टिलर र बताउने पङ्खा दुई वटा ८५ प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

सोही अवसरमा अभियानमुखि कोदो उत्पादन कार्यक्रमअन्तर्गत भगवती, बेगखोला, ताकम, देविस्थान र रत्नेचौरमा रहेका कृषक समूहलाई उनीहरुको मागका आधारमा एक÷एकवटा कोदो चुट्ने मेसिन ७५ प्रतिशत अनुदानमा वितरण गरिएको प्राविधिक सहायक खड्काले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us