काठमाण्डु– ओमानमा अलपत्र परेका छ नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी स्वदेश फर्काएको छ ।
राजधानी मस्कटमा रहेको दूतावासले जनाएअनुसार उद्धार गरी स्वदेश फर्काइएकामा बेजमोहन लोध (रुपन्देही), याचकबहादुर मगर (मोरङ), रामगरेश लोध (रुपन्देही), भगौतीप्रसाद चमार (रुपन्देही), पाटीराम ठाकुर महोत्तरी) र दिनेश महरा (धनुषा) रहेका छन् ।
रोजगारीको सिलसिलामा सात महिनाअघि मस्कट पुगेका उनीहरुलाई रोजगारदाताले बेतन नदिएको, खाना तथा बासको उचित प्रबन्ध नगरेको, स्वास्थ्योपचारको व्यवस्था नगरेको तथा राहदानी र परिचयपत्रसमेत नदिएको भन्दै दूतावासमा लिखित तथा मौखिक निवेदन दिएका थिए ।
दूतावासले तोकिएबमोजिमको सेवा सुविधा तथा औषधोपचारको व्यवस्था गर्न पटकपटक अनुरोध गरेपनि कुनै सुनुवाइ नभएकाले आज स्वदेश फर्काइएको हो । उनीहरुलाई दूतावासले यही असार २३ गते उद्धार गरेको थियो ।
रोजगारीमा पठाउने रोजगारदाता कम्पनीले नै जिम्मेवारीवोध गरी छ जनाकै हवाई टिकट उपलब्ध गराएपछि स्वदेश फर्काउन सहज भएको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
रोजगारदाता कम्पनीले स्वदेश फर्केपछि उनीहरुलाई उपयुक्त स्थानमा रोजगारीमा पठाउने वचनसमेत दिएको बताइएको छ ।