२२ करोड लागतमा अत्याधुनिक बसपार्क निर्माण हुने

काठमाण्डु टुडे २०७१ असार २४ गते ८:१२ मा प्रकाशित

पर्सा, २४ असार – वीरगञ्जमा अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ ।

यसका लागि वीरगन्ज उपमहानगरपालिकाको कार्यालयले दोस्रोपटक बोलपत्र आह्वान गरेको छ । २१ करोड ५४ लाख अनुमानित रकम राखेर बोलपत्र आह्वान गरिएको वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले जानकारी दिए ।

गत वर्ष उमनपाको कार्यालयले पहिलोपटक आह्वान गरेको बोलपत्रमा अनियमितता भएको आरोप लगाउँदै पप्पु कन्स्ट्रक्सन कम्पनीका व्यवस्थापक हरिनारायण रौनियारले राष्ट्रिय खरिद अनुगमन कार्यालय र दाता संस्था जिआइजेडको राजधानीस्थित कार्यालयमा समेत उजुरी हालेपछि पुराना सबै प्रक्रिया रद्द भएका थिए ।

यसअघि उमनपाको कार्यालयले २०६९ वैशाख २२ गते आह्वान गरेमुताबिक नौ वटा प्राविधिक र आर्थिक प्रस्तावसहितको बोलपत्र परेको थियो । यसमा १७ करोड ८७ लाख ३९ हजार ८७६ रुपैयाँ ५० पैसामा संयुक्त लगानीको प्रस्ताव गरेका आशिष÷स्वच्छन्द÷रोशनलाई दिने निर्णय भएको थियो ।

यीसहित चार वटा बोलपत्र पारित गरी २०६९ कात्तिक १ गते बोलपत्र खोलिएको थियो ।

उमनपाको कार्यालयले बोलपत्र भरेका कम्पनीमध्ये सबैभन्दा कम रकम प्रस्ताव गरेका आशिष÷स्वच्छन्द÷रोशनको आर्थिक प्रस्ताव खोलेर नगर विकास कोषमा पठाएपछि कोषले स्वीकृत गरी दाता जिआइजेडमा स्वीकृतिका लागि पठाएको थियो । यस बीचमा उजुरी परेपछि बोलपत्र स्वीकृति प्रक्रियाले अन्तिम रुप लिन पाएन ।

हालको बसपार्क भौतिक रुपमा जीर्ण भइसकेकाले यसै स्थानमा अत्याधुनिक बसपार्क निर्माण गर्ने उमनपाको कार्यालयको योजना छ । कार्यालयले केएफडब्लु बैंक जर्मनीसँग ऋण लिएर बसपार्क निर्माण गर्न लागेको हो ।

यो परियोजनाको कुल लागतमध्ये ९० प्रतिशत रकम केएफडब्लुले ऋणका रुपमा उपलब्ध गराउने छ । नेपाल सरकारले साढे ७ प्रतिशत बेहोर्ने छ भने बाँकी अढाइ प्रतिशत उमनपाको कार्यालयको म्याचिङ फन्डबाट लगानी गरिने छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us