नीतिगत कमजोरीले अर्थतन्त्र परनिर्भर : मन्त्री थापा

काठमाण्डु टुडे २०७१ असार २३ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, २३ असार – वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले राजस्वमा आधारित अर्थनीतिका कारण देशको व्यापारघाटा बढ्दै गएको बताएका छन् ।

sunil bahadur thapaवाणिज्य तथा आपूर्तिमन्त्रालयमा आज आयोजित वाणिज्य नीति–२०६५ सम्बन्धी छलफलमा उनले भने ,‘ नीतिगत कमजोरीकै कारण हाम्रो अर्थतन्त्र परनिर्भर भएको हो, त्यसलाई परिवर्तन गर्न जरुरी छ ।’

नेपाललाई विश्व अर्थतन्त्रमा व्यापारिक केन्द्रको रुपमा विकास गरिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले सरकारले निजी क्षेत्रको क्रियाकलापलाई सहजीकरणमात्र गर्ने भएकाले निजी क्षेत्र प्रतिस्पर्धी हुनुपर्ने धारणा राखे ।

अन्तर्राष्ट्रिय उपभोक्तालाई ध्यानमा राखेर उत्पादन वृद्धि गर्न सकेमात्र निर्यात प्रवद्र्धन गर्न सकिने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने उनले बताए ।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीले व्यापार घाटालाई कम गर्नका लागि सबै मन्त्रालयको समन्वय जरुरी भएको प्रष्ट पारे ।

कार्यक्रममा मन्त्रालयका सचिव नारायणगोपाल मलेगोले समयानुकुल वाणिज्य तथा आपूर्ति नीति बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ पाण्डेले आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्नका लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादनमा जोड दिनुपर्ने बताए ।

छलफलमा सहभागी मन्त्रालयका उच्च अधिकारी, निजी क्षेत्रमा प्रतिनिधिले विश्वव्यापीकरण, निजीकरण तथा पछिल्लो समयमा विकास भएका आधुनिक प्रविधिसँगै देशको वाणिज्य नीति परिवर्तन गर्दै लैजानुपर्ने सुझाव दिएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us