नेप्से एक हजारको लक्ष्य नजिक

काठमाण्डु टुडे २०७१ असार २३ गते १२:११ मा प्रकाशित
काठमाण्डु, २३ असार – नेप्से परिसूचक एक हजार चार बिन्दुको लक्ष्य नजिक अइपुगेको छ ।
nepseनेप्से कारोबार अवधिभर दुई पटक सम्म नौं सय ९६ मा पुगेको भएपनि होटेल, बिकास बैंक, वित्त र ‘अन्य’ समूहको परिसूचकको वृद्धिदर केही घटेपछि नौं सय ९५ मा सिमित भयो । नेप्से यस अघि भने २०६५ असोज २७ गते एक हजार चार बिन्दुमा रहेको थियो ।

अहिले पनि बजारमा खरीद गर्ने लगानीकर्ताहरुकै बाहुल्यता रहेको ब्रोकरहरु बताउँछन् । नेप्सेले सजिलै एक हजार एक ७५ को यसअघिको परिसूचक तोड्न सक्ने विश्वासमा लगानीकर्ताहरु रहेको उनीहरु बताउछन् । ब्रोकर्स एशोसिएसन आफ नेपालका अध्यक्ष नरेन्द्रराज सिजापती भन्छन्,‘अहिले कुनै पनि लगानीकर्ता बाहिरीने मनशायमा देखिदैनन्, उनीहरु प्रफिट बुकिङ गर्ने वा त्यसपछि प्राप्त रकम अन्य कम्पनीमा लगानी गरिरहेका छन ।’
बजार उच्च बिन्दुमा रहेकोले लगानीकर्ताहरुले कम्पनीले दिने लाभांश, कम्पनीको अवस्था लगायतलाई पनि मूल्यांकन गर्नुपर्ने समय रहेको पनि उनले छुटाएनन् ।
एक हजार चार देखि एक हजार १८ को बिन्दुमा प्रतिरोधको परिक्षण गरिरहेको नेप्सेले त्यसपछि पनि सानो/सानो प्रतिरोध पाउने सम्भावना छ । तर रेखा चित्रको आधारमा हेर्दा नेप्सेले एक हजार ६०, एक हजार ७१ बिन्दुमा भने केही दरिलो प्रतिरोध पाउँने देखिन्छ ।
२०६५ साल भदौ १५ गते एक हजार एक सय ७५ बिन्दु पुग्नु अघि नेप्से २०६४ साल पुष दुई गते एकपटक एक हजार ६४ मा पुगेर सोही बर्षको चैतमा सात सयको तहसम्म ओर्लिएको थियो ।
नबिल बैंकको संस्थापक सेयर यस दिन पनि कारोबारमा आयो । एनआइडीसी डेभलपमेन्ट बैंकले बोलकबोलमा बिक्री गरेको संस्थापक सेयर बाहेक पनि यो समूहबाट बैंकको नियमित कारोबार भयो । बैंकको कुल २८ करोड संस्थापक सेयरको कारोबार भएको छ ।
बढ्ने क्रममा रहेको नेशनल हाइड्रोपावरको सेयर मूल्य दुई १४ रुपैयाँ पुगेको छ । अरुण भ्याली र नेशनल हाइड्रो दुवैको क्रमशः चार करोड र तीन करोड रुपैयाँ बढिको कारोबार भयो ।
रिडी हाइड्रोपावरको भने सोमवार पनि कारोबार हुन सकेन । बजारमा नियमित कारोबारबाट भने कुल ६७ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । जानकी फाइनान्स, कन्ट्रि डेभलपमेन्ट, सहयोगी बिकास बैंकको सेयर मूल्य नौं प्रतिशतभन्दा धेरैले बढ्यो ।
जानकी फाइनान्स र सहयोगी बिकास बैंक कम मूल्यका साना तर प्रतिफल दिने कम्पनीको रुपमा बजारमा चिनिन्छन ।
यस दिन कारोबारमा आएका एक सय ५७ कम्पनीमा ३३ को मात्र सेयर मूल्य घटेको छ । कुल बजार पूँजीकरण १० खर्ब नाघेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us