माछापालन व्यवसाय विस्तार

काठमाण्डु टुडे २०७१ असार २१ गते ११:०६ मा प्रकाशित

म्याग्दी, २१ असार– पहाडी जिल्ला म्याग्दीमा माछापालन व्यवसाय विस्तार हुन थालेको छ । स्थानीय बजारमा माछाको माग र खपतसँगै कृषकले व्यवसायिक माछापालन Fishingगर्ने क्रम बढेको हो ।
थोरै जमिनमा स्थानीय स्रोत साधन र श्रमको उपयोग गरी छोटो समयमा आम्दानी गर्न सकिने भएकाले माछापालनतर्फ कृषकको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यस वर्षमात्र म्याग्दीमा २२ रोपनी जमिनमा माछापालन व्यवसाय विस्तार भएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार माछापालनका लागि प्रतिरोपनी १० हजारका दरले पोखरी निर्माण गर्न कृषकलाई दुई लाख २० हजार अनुदानसमेत उपलब्ध गराइएको छ । मध्यपहाडी मत्स्यपालन क्षेत्र विस्तार आयोजनाअन्तर्गत किसानलाई ६० हजार कमन कार्प र ग्रास कार्प जातका माछाको भुरासमेत वितरण गरिएको छ ।

उपयोगविहीन पोखरीको संरक्षण तथा सदुपयोग र माछाको आयात घटाउने उद्देश्यले माछापालन व्यवसाय विस्तार गर्न प्राथमिकता दिएको वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल जिल्लामा ६० वटाको हाराहारीमा माछा पोखरी रहेका छन् ।
२०३५ देखि घरायसी उपयोगका लागि माछा पाल्दै आएका पिप्ले–१ घुमाउने तालका कृषक रामबहादुर शाहीले पछिल्लो समय माछा खोज्दै ग्राहक पोखरीमै आउन थालेपछि यस पेसालाई व्यवसायिक बनाएर विस्तार गरेको बताए ।

हाल चारवटा पोखरीमा ११ हजार माछा पालेका शाहीले स्थानीयवासीले पोखरीबाटै माछा किनेर लैजाने भएकाले बजारको कुनै समस्या नभएको बताए ।  माछा प्रतिकिलो ५०० का दरले बिक्री हुने गरेको छ ।

हाल म्याग्दीमा नवलपरासी, जनकपुर र रूपन्देहीबाट आयात गरिएका माछा उपभोग हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us