निकुञ्ज घुम्ने पर्यटक बढे

काठमाण्डु टुडे २०७१ असार १९ गते १५:५४ मा प्रकाशित

चितवन, १९ असार– यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।
गत वर्षको तुलनामा एक महिना अगावै १० हजार १२५ जना पर्यटक बढेका छन् । निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढेर अहिले एक लाख ६३ हजार ८७४ जना पुगेको छ । यो गत साउनदेखि अहिले जेठसम्मको तथ्याङ्क हो ।
जसमा सबैभन्दा बढी सार्क मुलुकबाहेकका पर्यटक छन् । अन्य विदेशी राष्ट्रहरूबाट एक लाख १५ हजार ८९५ जना पर्यटकले निकुञ्ज घुमेका छन् भने सार्क राष्ट्रबाट १५ हजार सात सय २७ र ३२ हजार २५२ जना आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेको निकुञ्जले जनाएको छ ।

गतवर्ष निकुञ्जमा एक लाख ५३ हजार ७४९ जना पर्यटकले भ्रमण गरेका थिए । तर अहिले आर्थिक वर्ष सकिन एक महिना अगावै पर्यटकको सङ्ख्या बढेको हो । असार महिनासम्ममा पर्यटकको सङ्ख्या अझै बढ्ने निश्चित छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुावर यसपटक बन्द, हडताल जस्ता अवरोधका कार्य धेरै नभएपछि निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढेको बताउँछन् ।     उनले आगामी वर्षमा पनि यस्तै अवस्था रहे पर्यटकको सङ्ख्यामा कुनै कमी नआउने बताए । यसवर्ष कात्तिक महिनामा सबैभन्दा बढी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।

यस महिनामा २० हजार ७७२ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ । यस महिनामा सबैभन्दा बढी सार्क मुलुक बाहिरका देशका पर्यटक नै रहेका छन् । सार्कबाहेकबाट १५ हजार ३९३ जना, सार्क राष्ट्रबाट एक हजार ४५८ र आन्तरिक पर्यटक तीन हजार ९२१ पर्यटकले अवलोकन गरेका छन् ।

सबैभन्दा कम भने भदौ महिनामा पर्यटकले अवलोकन गरेका छन् । सो महिनामा आठ हजार ५४२ जना पर्यटकमात्र निकुञ्ज पुगेका छन् ।

यसैगरी निकुञ्ज भ्रमण गर्ने महिला र पुरुष बराबरी नै छन् । ८३ हजार ६१७ पुरुष र ८० हजार २५७ महिलाले निकुञ्ज भ्रमण गरेको निकुञ्जले जनाएको छ । गत वर्ष ८० हजार ९०२ जना पुरुष आएका थिए भने महिला ७२ हजार ८४७ जनामात्र आएका थिए ।

मकवानपुरको सुनाचुरी, चितवनको खगेन्द्रमल्ली, सौराहा, घटगाई, कसरा, वनकट्टा, भिम्ले, नवलपरासीको लौखानी, अमलटारी र कुजौली क्षेत्रबाट पर्यटक निकुञ्ज प्रवेश गर्ने गरेका छन् ।

निकुञ्जमा प्रवेश गर्ने पर्यटकबाट उठेको राजस्वको ५० प्रतिशत स्थानीय मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले खर्च गर्न पाउने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us