भरतीय बिउ रोपेका कारण मकैको घोगामा दाना लागेन

काठमाण्डु टुडे २०७१ असार १९ गते १५:५१ मा प्रकाशित

कञ्चनपुर, १९ असार– मकैको घोगामा दाना नलागेपछि कञ्चनपुर पिपलाडी–७ का कृषक मर्कामा परेका छन् ।
cornस्थानीय एग्रोभेटबाट हाइब्रिड सिटेक जातको मकैको बीउ खरिद गरेर खेतमा रोपेका कृषकको मकैको घोगामा दाना नलागेपछि लगानी खेर गएको छ ।
पिपलाडी स्वास्थ्य चौकीको सात कठ्ठा जग्गा भाडामा लिएर मकैखेती गरेका कृषक शङ्कर विष्टले मकैको बोट र घोगा ठूलै लागेपनि घोगामा दाना नलाग्दा लगानी खेर गएको बताउनुभयो ।

सिञ्चाइ, बीउ र मलखाद गरी दश हजार लगानी गरेर मकै रोपेको उनले बताए । ‘एग्रोभेट सञ्चालकले मकै हाइब्रिड जातको रहेकाले बढी फल्छ भनेर खेतमा रोपेको थिएँ उनले भने, ‘दाना नै नलागेपछि परिवार कसरी पाल्ने चिन्ता थपिएको छ ।’ पूरै खेतमा मकैका घोगा भाायेर हेर्दा एउटामा पनि दाना नलागेको पाइएको पिपलाडी गाविसका प्राविधिक वीरेन्द्र थापाले बताए ।
वसन्ते मकैखेती गरेका आधा दर्जन बढी कृषकले रोपेको मकैको घोगामा दाना लागेको छैन । व्यावसायिक रूपमा यहाँका अधिकांश कृषकले मकै लगाउने गरेका छन् ।
कृषि विकास कार्यालय कञ्चनपुरका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले कञ्चनपुरसहित तराईका जिल्लाका लागि राजकुमार र अरूण २ जातका हाइब्रिड मकैको बीउमात्रै पञ्जीकृत रहेको बताए ।
भारतीय प्रतिबन्धित बीउका कारण कृषकले नोक्सानी व्यहोर्नु परेको उनले बताए । कृषि सेवा केन्द्रका कृषि प्राविधिकको सल्लाहबिना कृषकहरूले एग्रोभेट सञ्चालकको सल्लाहमा जुन बीउ पायो त्यही रोप्ने गरेकाले मकैको घोगामा दाना नलाग्ने समस्या देखापरेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us