पैँतीस करोड हिनामिना आरोपमा अख्तियारमा उजुरी

काठमाण्डु टुडे २०७१ असार १७ गते १३:४५ मा प्रकाशित

कञ्चनपुर, १७ असार– जिल्लाको दक्षिणी भेग रौतेलीविचुवामा नहर तटबन्ध निर्माणमा ३३ करोड रकम हिनामिना गरेको भन्दै तत्कालीन महाकाली सिञ्चाइ व्यवस्थापन नम्बर ८ का तत्कालीन कार्यालय प्रमुखसहित चार कर्मचारीविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
रौतेली विचुवा शिवनगर नहर संरचना निर्माणमा भ्रष्टाचार गरेको आरोपसहित तत्कालीन महाकाली सिाचाइ व्यवस्थापन नम्बर ८ का कार्यालय प्रमुख चञ्चलसिंह विष्ट, इन्जिनियरद्वय कमलसिंह महतो, विनोदचन्द्र झा र लेखापाल नवलसिंह मल्लको नाममा उजुरी परेको सुदूरपश्चिम अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरले जनाएको छ ।
२०६५ को बाढीले धनजन क्षति गर्नुका साथै त्यहाँका संरचना भत्काएपछि पुनर्निर्माणका लागि आएको ३५ करोड रकममध्ये दुई करोडभन्दा कमको मात्रै काम गरी नक्कली बिल पेस गरी रकम निकास गरेको अख्तियारको उजुरीमा उल्लेख गरिएको छ ।
महाकाली सिाचाइ प्रमुख विष्ट हाल महाकाली सिञ्चाइ तेस्रो चरणको कार्यालय प्रमुख भई काम गरिरहेका छन् । अख्तियार सुदूरपश्चिम क्षेत्रीय सम्पर्क कार्यालयका उपसचिव विष्णुसिंह विष्टले उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरिरहेको जानकारी दिए ।  अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही हुने उपसचिव विष्टले जानकारी दिए ।
यसबारेमा तत्कालीन महाकाली सिञ्चाइ व्यवस्थापन कार्यालय प्रमुख चञ्चलसिंह विष्टले उक्त क्षेत्रका आफूले अनियमिता नगरेको दाबी गरेका छन् । सो रकम उक्त क्षेत्रको नहर मर्मतका लागि मात्रै भनी किटेर नआएको विष्टको दाबी छ ।

एसियाली विकास बैंकको लगानीमा भत्किएका नहर संरचनाहरूको पुनर्निर्माणका लागि एडिबीकै कन्सल्टेन्सीको उपस्थितिमा काम भएको उनको भनाइ छ ।

दक्षिणी क्षेत्रका जनताले भने दक्षिणको विकास र निर्माणका लागि आएको रकम हिनामिना गर्ने जो कोहीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us