आगामी वर्षबाट धान आयातमा कमी हुने : मन्त्री पराजुली

काठमाण्डु टुडे २०७१ असार १५ गते ११:३५ मा प्रकाशित

ललितपुर, १५ असार – धानको उत्पादनमा क्रमशः ह्रास आइरहेको परिप्रेक्ष्यमा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले आगामी वर्षबाट नेपालले आयात गरिरहेको धानमा कमी आउने बताएका छन् ।

hari parajuliनेपाल कृषि अनुसन्धान परिषद्द्वारा खुमलटारमा आज आयोजित ११औँ राष्ट्रिय धान दिवसको अवसरमा सिँचाइको सुविधा भएको ठाउँमा अधिकतम धानखेती गरी उत्पादनमा वृद्धि ल्याउनुपर्नेमा मन्त्री पराजुलीको जोड थियो ।

उनले कुल कृषि क्षेत्रको दुई तिहाइ भू–भाग ग्रामीण भेगमा पर्ने भएकाले त्यहाँका किसानको स्तरवृद्धिबाट नै सन् २०२२ सम्ममा नेपाल अल्प विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा परिणत हुन सहयोग हुने जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. भारतेन्दु मिश्रले कृषि क्षेत्रमा गरिने कार्यक्रमको कार्यान्वयनले मात्र धान दिवसले सार्थकता पाउने बताएका छन् । कृषि क्षेत्रको विकासका लागि लगानीको अभाव भएको चर्चा गर्दै कृषकका भावनालाई बुझेर अगाडि बढ्नुपर्नेमा डा. मिश्रको जोड थियो ।

पशु सेवा विभागका महानिर्देशक डा. नरबहादुर रजवारले हरेक पशुको आहार कृषि क्षेत्रबाटै उत्पादन हुने भएकाले यसप्रति समयमा नै चनाखो हुनुपर्नेमा जोड दिए ।

कृषि विभागका महानिर्देशक डा. युवक जोशीले उन्नत किसिमको बीउबिजनबाट मात्र कृषि क्षेत्रमा उत्पादन वृद्धि हुने भएकाले समयमै किसानलाई बीउ पु¥याउनुपर्ने तर्क गरे । कृषिमा आधुनिकीकरणबाट उत्पादनमा वृद्धि गर्न सकिने बताउँदै यससँग सम्बन्धित निकाय र राजनीतिक दलहरुले समेत चासो राख्नुपर्ने डा. जोशीको जोड थियो ।

अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थाका प्रतिनिधि जगदीशकुमार लाधाले धान उत्पादनमा अत्यधिक वृद्धिका लागि सही योजनाको छनोट हुनुपर्नेमा जोड दिए । उत्पादनमा आएको वृद्धिले नेपालले गर्दै आएको धान आयातमा कमी भई निर्यात गर्न सकिने उनको तर्क थियो ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३५ प्रतिशत रहेको भए पनि प्रमुख अन्न बाली धानको मात्र २० प्रतिशत योगदानले धानको उत्पादनमा बढोत्तरी गर्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको कृषि विज्ञहरुको भनाइ छ ।

नेपालमा कुल खेतीयोग्य जमिनको १५ लाख ७० हजार हेक्टर जग्गामा धान रोपाइँ गर्न सकिने भए पनि हालसम्म ८ दशमलव ८ प्रतिशत खेतीमा मात्र धान रोपाइँ भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us