सत्र उद्योगविरुद्ध मुद्दा दायर

काठमाण्डु टुडे २०७१ असार १४ गते १४:०४ मा प्रकाशित

बाँके, १४ असार– नागरिकको स्वास्थ्यमा असर पार्ने खालका खाद्य पदार्थ उत्पादन गर्ने मध्यपश्चिमाञ्चल क्षेत्रका १७ वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार मध्यपश्चिमाञ्चलका बाँके, दाङ र सुर्खेतका दूध तथा दुग्ध पदार्थ, प्रशोधित पानी, चामल, चकलेट, दाल, बिस्कुटको नमुना परीक्षण गरिंदा मापदण्ड विपरीत पाइएपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो ।
मुद्दा दायर गरिएकामध्ये दाङमा सबैभन्दा बढी १०, बाँकेमा चार र सुर्खेतमा तीनवटा रहेका छन् । सातवटा दूध तथा दुग्ध पदार्थका उद्योगमा अनुगमन गर्दा केही न केही कमी पाइएको कार्यालय प्रमुख विमलकुमार दाहालले बताए ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म खाद्य उद्योग, थोक एवम् खुद्रा बजार निरीक्षण गरी ३७० वटा नमुना सङ्कलन गरिएकामा १७ वटामा मापदण्ड प्रतिकूल पाइएको हो ।

यसैगरी, १६७ पटक संयुक्त बजार अनुगमन भई ८२ वटा पसल, होटल र रेष्टुरेन्टका विभिन्न उत्पादन जफत, नष्ट तथा उत्पादनमा रोक लगाइएको कार्यालय प्रमुख दाहालले बताए ।

२०  वर्षअघि स्थापना भएको यस कार्यालयमा जनशक्ति तथा आवश्यक उपकरणहरूको अभाव रहेको छ । कतिपय नमुना परीक्षणका लागि उपकरणको अभाव हुँदा राजधानीसम्म पठाउनुपर्ने बाध्यता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us