
बाँके- आजभोलि भन्दाभन्दै तीन वटै सन्तानको बोली फुटेन । धामीझाँक्री र औषधिमुलो गर्दासमेत केही उपाय नलागेपछि आफन्तले ठाउँ सर्न सुझाव दिए । रुकुम चिसापानीको घरजग्गा छाडेर परिवार बाँकेको महादेवपुरीस्थित ढकेरीमा आयो ।
त्यतिञ्जेल त पतिले साथ दिएका थिए । छोराछोरीको बक नफुटेको दोष पत्नीलाई थोपरे र दोस्रो बिहे गरेर राजमार्ग उत्तर जंगल छेउको गाउँमा बस्न पुगे । ‘छोराछोरी बोलेनन् भनेर अर्की बिहे गरे,’ ६० वर्षीया हस्तकली खत्रीले भनिन्, ‘यसमा मेरो के दोष र ?’
त्यसयता तीन बहिरा छोराछोरी हुर्काउन र शिक्षादीक्षा दिन उनले गरेको संघर्ष कम मार्मिक छैन । उनले भनिन्, ‘अर्काको घरमा दुःखजिलो गरेर छोराछोरीको गाँस जुटाएँ । लोग्नेको मन फर्किन्ने आशा थियो । उनले मुखसमेत देखाएनन् ।’
हस्तकलीका छोराछोरी लीला, टेकबहादुर र सुखी अहिले हुर्किसकेका छन् । तीनैजनाले भर्खरै ‘ख’ वर्गको नीलो परिचयपत्र पाए । उनीहरूमध्ये कान्छी सुखी स्थानीय गणेश उच्चमाविमा पढ्न जान्थिन् । उनी कक्षा ८ मा पुगिन्, बहिरा विद्यार्थीलाई पढाउने छुट्टै शिक्षक र पाठ्यक्रम नहुँदा समस्या भयो । त्यसपछि समाहित शिक्षामा काम गरिरहेको संस्था रेरीले उनलाई पढाउन थाल्यो । अहिले सुखी आफ्नो नाम लेख्न सक्ने भएकी छन् ।
महादेवपुरीमा विद्यालय जाने उमेरका बहिरा र अपांग बालबालिका धेरै भएपछि पायक पर्ने गणेश उच्चमाविमा रेरीले समाहित शिक्षाका लागि विद्यार्थी र शिक्षकहरूलाई तालिम दियो । ‘तालिममात्र दिइयो, सांकेतिक भाषाको पढाइ हुन सकेन,’ शिक्षिका सीता वलीले भनिन्, ‘विद्यालयमा आवासीय सुविधा नहुँदा टाढाका अपांग विद्यार्थी आउन छाडे ।’ जेठी छोरी लीला पनि आफ्नो नाम लेख्न सक्ने भएकी छन् ।
छोरा टेकबहादुर सामान्य हिसाबकिताप गर्न सक्छन् । उनले मिस्त्री काम सिकेकाले गाउँमा घर बनाउने र ज्याला मजदुरीको काम गरेर आमालाई सघाइरहेका छन् । ‘भाग्यको लीला भनेको यही रहेछ । मेरो कोखबाट तीन छोराछोरी जन्मिए । सबै बहिरा भएर निस्किए,’ हस्तकलीले भनिन्, ‘लोग्ने र समाजले यसको सबै दोष मलाई दिए ?’
कान्तिपुर दैनिकबाट