सम्पत्ति शुद्धीकरण कालोसूचीबाट नेपाल खतरा मुक्त

काठमाण्डु टुडे २०७१ असार १३ गते १०:३२ मा प्रकाशित

काठमाण्डु, १३ असार – फ्रान्सको पेरिसमा शुक्रबार आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी बैठकले नेपाललाई नियमित अनुगमनको सूचीबाट हटाउने निर्णय गरेको छ ।

यो निर्णयपछि नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी कालोसूचीको खतराबाट मुक्त भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई नियमित अनुगमनको सूचीबाट हटाउने बैठकले निर्णय गरेको जानकारी दिए ।

‘एफएटीएफको शुक्रबार बसेको बैठकले नेपाललाई नियमित अनुगमनको सूचीबाट हटाउने निर्णय गरेको छ’ उनले भने –अब कम्तिमा पाँच वर्ष कालोसूचीमा पर्ने त्रासबाट नेपाल जोगिएको छ ।’

सन् २०१० देखि नेपाललाई सम्पत्ति शुद्धीकरणको विरुद्धमा कार्यरत अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नियमित अनुगमनको सूचीमा राखेको थियो ।

सन् २०१० यता मात्रै एफएटीएफले सम्पत्ति शुद्धीकरण निवारण ऐन र यससम्बन्धी कानूनहरु नबनाएको भन्दै पटक–पटक कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । एफएटीएफको दबावसँगै सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी आवश्यक ऐन कानून तर्जुमा गरिसकेको छ ।

नेपालको स्थलगत अनुगमनका लागि एफएटीएफको टोली गत वर्ष नेपाल आएको थियो । उक्त टोलीले नेपालमा नीतिगत सुधार भएको प्रतिवेदन बुझाएपछि एफएटीएफको प्लेनरी बैठकले नेपाललाई नियमित अनुगमनको सूचीबाट हटाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us