
म्याग्दी– म्याग्दी रत्नेचौरका युवाहरुले इन्टरनेटको प्रयोग गरी सहयोग जुटाएर स्थानीय एक विद्यालयलाई कम्प्युटर उपलब्ध गराएका छन् ।
रत्नेचौरका तीन युवाले सामाजिक सञ्जाल र वेबसाइटमार्फत नगद जुटाएर अर्जममा रहेको रामचन्द्र माविलाई सात थान कम्युटर उपलब्ध गराएका हुन् ।
निराजन थापा, शिव बोगटी र शीतल शर्माको पहलमा सात थान कम्प्युटर र एक थान प्रोजेक्टर सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक सस्तवीर आलेमगरले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालयको प्रविधि विस्तार कार्यक्रममार्फत थप चार थान कम्प्युटर जडान गरिएको छ । यस वर्षदेखि कक्षा ७ बाट कम्प्युटर विषयको अध्यापन गराउन सुरु गरेको प्रअ आलेले बताए ।
विद्यालयमा कम्प्युटर जडान गरेपछि ग्रामीण क्षेत्रका विद्यार्थीको आधुनिक प्राविधिक शिक्षामा पहुँच बढ्नुका साथै विद्यालयको प्रशासनिक तथा शैक्षिक सुधारमा सहयोग मिलेको आलेले बताए ।
विद्यालयमा इन्टरनेटसमेत जडान गरी अभिभावक र अन्य युवायुवतीलाई पनि कम्प्युटर शिक्षा दिने तयारी गरिएको छ ।