
काठमाण्डु, १३ असार– नेपाल चेम्बर अफ कमर्स र अमेरिका–नेपाल चेम्बर अफ कमर्सबीच सहयोग साझेदारी सम्बन्धमा आज एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा व्यापार तथा उद्योगलगायतमा लगानी बढाउने, एक आपसमा विभिन्न सहयोगको आदानप्रदान गर्ने लगायतका विषयहरू सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
सम्झौतापत्रमा अमेरिका–नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष गोकुल पौडेल र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट महासचिव कमलेशकुमार अग्रवालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अमेरिका–नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य एकराज पाण्डेलार्ई आवाशीय प्रतिनिधिका रूपमा नियुक्त गरिएको थियो ।
सम्झौतापत्रमा हस्ताक्षरसँगै व्यापार, उद्योग व्यवसाय र नेपालमा लगानी अभिवृद्धि गरी यहाँको विकास गर्नका लागि सकारात्मक पहल सुरु भएको अमेरिका–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष पौडेलले बताए । उनले अमेरिका–नेपाल चेम्बर अफ कमर्सको संयोजनमा बङ्गलादेश, पाकिस्तान, भारत, मेक्सिको, चीन, कोरिया, फिलिपिन्स, जापानलगायतका १५ देशका चेम्बर अफ कमर्सको आयोजनामा आगामी अक्टोवरमा क्यालिफोर्नियाको लक्सएन्जलमा व्यापार मेला हुन लागेको जानकारी गराएका थिए ।