नाइजेरियामा बम विस्फोट २१ को मृत्यु, १७ घाइते

काठमाण्डु टुडे २०७१ असार १२ गते १२:०६ मा प्रकाशित

अबुजा, १२ असार – नाइजेरियाको राजधानी अबुजामा अवस्थित एक ‘सपिङ सेन्टर’ मा बुधबार भएको बम आक्रमणमा सहभागी संदिग्ध एक व्यक्ति पक्राउ परेको नाइजेरियाली अधिकारीहरूले जानकारी दिएका छन् ।

यस बम आक्रमणबाट २१ व्यक्तिको मृत्यु हुनुका साथै १७ जना घाइते भएको राष्ट्रिय प्रहरीका प्रवक्ता फ्रान्क म्बाले जानकारी दिएका छन् ।
साथै यस आक्रमणमा संलग्न संदिग्ध एक व्यक्ति पक्राउ परेको पनि उहाँले जानकारी दिनुभएको छ ।

बुधबार भएको सो बम विस्फोट स्थानीय समयानुसार अपराह्न ४ बजे ‘इमाब प्लाजा’ नामको सपिङ सेन्टरमा भएको राष्ट्रिय संकट व्यवस्थापन (एइएमए) ले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय सूचना केन्द्रले दिएको जानकारीअनुसार आक्रमणमा संलग्न दोस्रो व्यक्तिको प्रहरीले जारी राखेको कारबाहीका क्रममा मृत्यु भएको छ । ती व्यक्ति मोटरसाइकलबाट भाग्ने कोशिसमा रहेका बताइएको छ ।

वरिष्ठ प्रहरी प्रवक्ता मिके ओमेरीले यस विस्फोटको पुष्टि गरेका छन् ।

उद्धारकर्ताको एक टोलीले यस घटनापछि त्यस क्षेत्रमा रहेका पीडित परिवारलाई विस्थापित गरेको एनईएमएका प्रवक्ता मान्जे इजेकिएलले एएफपी समाचार समितिलाई जानकारी दिए ।
व्यापारको उच्च समयमा बेलामा पारी सो विस्फोटन गराइएको हुनाले यस क्षेत्रमा रहेका ४० वटा कार ध्वस्त भएको बताइएको छ ।

गत अप्रिल १४ मा सहरको बाहिरी इलाकामा रहेको न्यान्या बस बिसौनीमा भएको एक कार बम विस्फोटमा कम्तीमा ७५ व्यक्तिको मृत्यु भएको थियो ।

सोही स्थानमा गत मे १ मा भएको बम विस्फोटमा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको थियो ।

नाइजेरियाको एक अतिवादी समूह बोको हरामले गत सोमबार कम्तीमा पनि ६० जना बालिका अपहरण गरेका थिए ।

उनीहरूले विगत करिब दुई महिनादेखि महिला र बालबालिकाको अपहरण गर्ने अभियान नै सञ्चालन गरिरहेका छन् ।

यस अघि उनीहरूले कम्तीमा पनि २०० जना स्कुले बालिकालाई अपहरण गरेका थिए । उनीहरूले सो अपहरणको जिम्मेवारी पनि लिएका छन् ।

सोमबार राति पनि नाइजेरियाको बोर्नाे राज्यको दाम्बोआ जिल्लाबाट ती बालिकालाई अपहरण गरिएको अधिकारीहरूले जनाएका छन् ।

गत महिना अपहरणमा परेका २०० जना बालबालिकाको उद्वारको काम सुरक्षाकर्मीहरूले अघि बढाइरहेको बताइरहेकै बेला ती अतिवादीहरूले सोमबार पुनः यो घटना गराएका थिए ।  एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us