सरकारको प्राथमिकतामा विशेष कृषि उत्पादन कार्यक्रम

काठमाण्डु टुडे २०७१ असार १२ गते ११:२४ मा प्रकाशित

काठमाण्डु १२ असार – प्रमुख खाद्यान्न बालीको उत्पादन वृद्धि तथा खाद्य सुरक्षाका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा विशेष कृषि उत्पादन कार्यक्रमलाई प्राथमिकता दिने भएको छ ।

उक्त कार्यक्रमअन्तर्गत कृषि विकास मन्त्रालयमार्फत सरकारले मल, कृषि औजारमा, प्राङ्गारिक मल उत्पादनमा प्रोत्साहन र बीउमा अनुदान दिने भएको होे । आगामी आर्थिक वर्षमा सरकारले रासायनिक मल र प्राङ्गारिक मलका लागिमात्र रु पाँच अर्ब २३ करोड ८७ लाख ४० हजार अनुदान उपलब्ध गराउनेछ ।

विगतमा दिइँदै आएको उक्त अनुदानलाई निरन्तरताअनुसार नै आगामी आर्थिक वर्षमा दुई लाख ५५ हजार टन रासायनिक मल र १० हजार टन प्राङ्गारिक मल लागत सहभागिताका आधारमा कृषकलाई विशेष कृषि उत्पादन कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराउन लागिएको हो ।

उक्त अनुदानित रासायनिक तथा प्राङ्गारिक मलको आपूर्ति सहज भई प्रमुख खाद्यान्न तथा तरकारी बालीको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने कृषि विकास मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुइँटेलले जानकारी दिए ।

कृषि मन्त्रालयको रु २२ अर्ब ४० करोड कुल बजेटमध्ये सबैभन्दा बढी विशेष कृषि उत्पादन कार्यक्रमका लागि छुट्याइएको छ ।

त्यसैगरी सोही कार्यक्रममार्फत सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा लागत सहभागिताका आधारमा प्राङ्गारिक मल कारखाना स्थापना गर्नका लागि आवश्यक पर्ने मेसिनरी औजार उपकरण अनुदानको व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ । त्यसका लागि मन्त्रालयले रु एक करोड ७५ लाखको व्यवस्था गरेको छ ।

प्राङ्गारिक मलको उत्पादन तथा प्रवद्र्धनका लागि प्रोत्साहन गर्न उत्पादनमा लाग्ने लागतमा ५० प्रतिशत अनुदान दिन लागिएको छ । त्यसका लागि कृषि विकास मन्त्रालयले रु आठ करोड ८३ लाख बजेट प्रस्ताव गरेको छ । भकारो सुधार कार्यक्रमअन्तर्गत पाँच विकास क्षेत्रका विभिन्न ५५ जिल्लामा सो अनुदान दिन लागिएको हो ।

त्यसैगरी बिजनको दीर्घकालीन राष्ट्रिय सोच (२०१३–२०२५) अनुसार खाद्यान्न बालीको बीउ प्रतिस्थापन दर बढाउँदै खाद्य सुरक्षामा सुधार ल्याउन सात हजार टन उन्नत बीउ लागत सहभागिताका आधारमा रु १३ करोड ३० लाख अनुदान दिन लागिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us