निमित्त कार्यकारी प्रमुख निरौला पर्यटन बोर्ड छिरे

काठमाण्डु टुडे २०७१ असार ११ गते १०:४९ मा प्रकाशित

काडमाण्डु, ११ असार – नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले आजदेखि पुनःआफ्नो पदीय जिम्मेवारी सम्हालेका छन् ।

subas niraulaपर्यटन व्यवसायीको दुई महिना लामो आन्दोलनका कारण बोर्ड प्रवेश गर्न नसक्नुभएका निरौलाले एक साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय सुचारु गर्न दिएको निर्देशन पश्चात् बुधबारदेखि काम सुरु गरेका छन् ।

निरौला बोर्डमा प्रवेश गर्दा बोर्डका केही कर्मचारी र शुभेच्छुकले माला र अबीरद्वारा स्वागत गरेका थिए । बोर्डका निमित्त कार्यकारी प्रमुख निरौलाले पुनः जिम्मेवारी सम्हालेपछि पत्रकारसँग कुराकानी गर्दै लामो समयदेखि बन्द रहेको बोर्डलाई नियमित रुपमा सञ्चालन गर्न व्यवसायीसँग समन्वय गरेर अघि बढ्ने बताए ।

अख्तियारको तीनदिने निर्देशनपछि व्यवसायीको आन्दोलनका कारण ५२ दिनदेखि ठप्प रहेको बोर्डको कार्य यही असार ५ गतेदेखि सुरु भएको थियो । बोर्ड कार्यालय खुले पनि निमित्त कार्यकारी प्रमुखको कार्यकक्ष र टिम्स कार्ड वितरण शाखालगायत महत्वपूर्ण शाखा बन्द थिए जुन आजैबाट सुचारु गर्न निर्देशन दिइएको निमित्त प्रमुख निरौलाले जानकार िदिए ।

बोर्डको गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै तत्काल कार्य सुचारु गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही असार ४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएपछि त्यसको भोलिपल्ट बोर्ड सञ्चालनमा आएको थियो । अख्तियारको निर्देशनपछि बोर्डमा भएका अनियमितताको छानबिनको माग राख्दै आन्दोलनरत संयुक्त पर्यटन समन्वय समिति (जेटिसिसी) ले पत्रकार सम्मेलन गरी आन्दोलन फिर्ता लिएको थियो ।

बोर्डको संरचनागत सुधार, बोर्डभित्र भइरहेको अनियमितता तथा भ्रष्टाचारको छानबिन, बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई पदमुक्त, पदयात्रा मजदुरको अनिवार्य सहभागिता, मजदुर कल्याणकारी कोषको स्थापनालगायतका माग राखी पर्यटन व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनरत पक्षको मागअनुरुप पर्यटन बोर्डको आर्थिक गतिविधिको छानबिन तथा संरचनागत सुधारका लागि व्यवसायीको प्रतिनिधित्व हुने गरी मन्त्रालयले बोर्डको छानबिनका लागि पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा सात सदस्यीय र मन्त्रालयकै अर्का सहसचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा १५ सदस्यीय बोर्ड पुनःसंरचनासम्बन्धी सुझाव समिति गठन गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us