राउटेको तलब दोब्बर

काठमाण्डु टुडे २०७१ असार ९ गते १२:२२ मा प्रकाशित

सुर्खेत, ९ असार– करिब पाँच महिना अगाडि वन हेरालुको जागिर पाएका राउटे समुदायको तलब दोब्बरले वृद्धि गरिने भएको छ ।
rauteफिरन्ते जीवन बिताउने उनीहरले अहिले महिनाको दुई हजार ५सय मासिक तलब पाउने गरेकामा आगामी साउन महिनादेखि दोब्बर वृद्धि गरेर पाँच हजार बनाइने जिल्ला वन कार्यालय सुर्खेतका जिल्ला वन अधिकृत शम्भुप्रसाद चौरासियाले जानकारी दिए । एक जना राउटे समुदायका सल्लाहकार र तीन जना मुखियालाई जिल्ला वन कार्यालय सुर्खेतले वन हेरालुको जागिर दिएको थियो ।

राउटे अगुवाहरले सोचेभन्दा राम्रो काम गरेको र वन संरक्षणमा उनीहरुको भूमिका महत्वपूर्ण रहेकाले वन हेरालु र अग्नि नियन्त्रकको जिम्मेवारी दिइएको अधिकृत चौरासियाले बताए ।

‘उनीहरुले हामीले सोचेभन्दा पनि धेरै राम्रो काम गरेका छन्’ , उनले भने,  ‘अब साउनदेखि तलब पनि पाँच हजार हुन्छ ।’  गत फागुन महिनामा जिल्ला वन कार्यालयले मासिक दुई हजार ५ सय तलब दिने गरी राउटे समुदायका सल्लाहकार ऐनबहादुर शाही, मुखिया सूर्यनारायण शाही, डिलबहादुर शाही र वीरबहादुर शाहीलाई वन हेरालुको जागिर दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us