पूर्वाधार विकासमा ३६ अर्ब

काठमाण्डु टुडे २०७१ असार ९ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, ९ असार – सरकारले देशको आर्थिक समृद्धिका लागि ग्रामीण पूर्वाधारलाई विशेष प्राथमिकता दिने बताइरहँदा आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक मर्मत, विस्तार तथा नयाँ निर्माणमा रु ३६ अर्बभन्दा बढी खर्च गर्ने भएको छ ।

सरकारले नयाँ सडक निर्माणमा मध्यपहाडी लोकमार्गलाई प्राथमिकताका साथ निरन्तरता दिने र नेपाल र भारत जोड्ने उत्तर–दक्षिण लोकमार्गहरू कोसी, कर्णाली र कालीगण्डकी कोरिडोरलाई विशेष प्राथमिकता दिने भएको हो ।

त्यस्तै, तराईको हुलाकी सडकलाई पनि पर्याप्त बजेटको व्यवस्था गर्न अर्थमन्त्रालयसँग माग गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता ई. माधवकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले उक्त सडकमा पर्ने पुल निर्माण कार्यलाई पनि सँगै पूरा गरिने बताए ।

चालुु आर्थिक वर्षमा उक्त कार्यका लागि रु ३३ अर्बको बजेट छुट्याइएको थियो । आगामी आर्थिक वर्षका लागि रु ४० अर्ब रकम व्यवस्था गर्न लागिएको बताइएको छ । उक्त रकममध्ये सरकारले ९३ प्रतिशतभन्दा बढी सडक सञ्जालमा नै खर्च गर्नेछ ।

त्यसैगरी, व्यापारिक मार्ग, विराटनगर–जोगवनी, भैरहवाको पथलैयादेखि बुटवल र नेपालगन्ज कोहलपुर सडकलाई छ लेनमा विस्तार गरिने मन्त्रालयले जनाएको छ । जिल्ला सदरमुकाम जोड्ने सडक भने विश्व बैंक, एसियाली विकास बैंक र भारतीय आयात–निर्यात बैंकको ऋण तथा अनुदानमा निर्माण गरिनेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us