
दमौली, ९ असार– बेलायतको इजिपी युनिभर्सिटीका विद्यार्थी यतिबेला तनहुँको मनपाङ–८ हर्षपुरस्थित सरस्वती प्राविको भवन निर्माणमा जुटेका छन् ।
क्याम्पस बिदामा घुम्न आएका स्नातकतहका ती विद्यार्थी नेपाली मिस्त्रीहरुसँग मिलेर भवन निर्माणमा जुटेका हुन् ।
भवन निर्माणका लागि खाल्डो खन्ने, माटो मुछ्ने, पुर्ने, ढुङ्गा ओसार्ने, काठ ओसार्ने, मसला बनाउनेजस्ता काममा उनीहरु व्यस्त हुने गरेको विद्यालयका प्रधानाध्यापक वसन्त रानाभाटले बताए ।
उनीहरुले भवन बनाउन मात्र नभई कक्षा ४ र ५ मा अङ्ग्रेजी विषयसमेत पढाइरहेका छन् । गाउँकै होमस्टेमा बस्दै आएका ती विद्यार्थी नेपाली भाषा सिक्न र नेपाली संस्कृतिसँग रमाउनसमेत त्यतिकै जागरुक हुने गरेका छन् ।
बेलायतको इजिपी युनिभर्सिटीको आर्थिक सहयोगमा काठमाण्डु इन्भारोमेन्टल एजुकेसन प्रोजेक्ट (किप) को सक्रियतामा सामुदायिक विकास कार्यक्रमअन्तर्गत विद्यालयको भवन निर्माणको कार्य सुरु गरिएको कार्यक्रमका संयोजक अर्जुन लिम्बूले बताए ।
सो युनिभर्सिटीका विद्यार्थीहरुले खाजा खान दिएको रकम बचाएर सङ्कलन गरी पठाएको रु १७ लाखको लागतमा विद्यालयको अत्याधुनिक दुईकोठे भवन निर्माण गर्न लागिएको हो ।