बेलायतका नेपाली पत्रकार परोपकारतिर

काठमाण्डु टुडे २०७१ असार ८ गते ४:५५ मा प्रकाशित

लन्डन– नेपाल पत्रकार महासंघ बेलायतले परोपकारी कार्यतर्फ पाइलाअघि बढाएको छ । शाखाले व्यवसायिक दक्षता अभिवृद्धि र पत्रकारलाई आपतविपतका बेला सहयोग गर्ने विषयमा सक्रियता बढाउन थालेको हो । परोपकारी कार्यलाई थप प्रभावकारी बनाउन आइतबार महासंघ बेलायत शाखाका पदाधिकारीहरु बैठकले समिति नै गठन गरेको छ ।
बैठकले नेपालमा पत्रकारिता गर्दा गर्दै युद्धमा मारिएका पत्रकारका सन्ततिहरु वा अरु आपतविपतमा परेकालाई के कस्तो सहयोग गर्न सकिन्छ अध्ययन गर्न महासचिव श्याम लुईंटेललाई जिम्मा दिएको छ । यसबाहेक उपाध्यक्ष धर्मराज अधिकारीको संयोजकत्वमा परोपकार तथा सहयोग समिति गठन गरेको छ जसमा सहकोषाध्यक्ष देवेन्द्र खरेल, वाचस्पति रेग्मी, एभरेष्ट गौतम र रमा लामिछाने छन् ।

यसअघि मृगौला रोगले थलिएर उपचार गराइरहेका वरिष्ठ पत्रकार चुनवहादुर गुरुङलाई करिब दुई महिनाअघि महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरिसकेको छ ।
त्यसबाहेक बैठकले बेलायतमा नेपाली मिडियालाई कसरी व्यवसायिक बनाउन सकिन्छ भन्ने सुझाव लिन बेलायतभर मिडिया सर्भेलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बेलायतमा पहिलोपटक जाति, भाषा लिंग, क्षेत्र र वर्ग समेट्ने गरी मिडिया सर्भे सुरु गरिसकेको छ ।

वरिष्ठ उपाध्यक्ष नरेश खपाङगी मगरलाई यसको संयोजन गर्ने जिम्मा दिइएको छ । संयोजक खपाङगी मगरले केही दिनमा सर्भेलाई बेलायतभर पुर्‍याउन थप सदस्यहरु सिफारिस गर्न पाउनेछन् ।

त्यससँगै मिडिया सर्भेमा सहयोग गर्ने सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेलाई पार्टनरका रुपमा राख्ने निर्णय पनि बैठकले गरेको छ । पदाधिकारी बैठकले सुजन पराजुलीको संयोकत्वमा सांस्कृतिक समिति गठन गरेको छ जसमा रन्जित बस्नेत र शेखर लामिछाने छन् ।

त्यसैगरी, नेपाली माझ नै नेपाली मिडियाका बारेमा थप जानकारी गराउने र प्रतिक्रिया लिन मिडिया प्रदर्शनी गर्ने योजना छ । नेपाली मेलामा मिडियाको प्रदर्शनी गर्ने कार्यका लागि संयोजन गर्न अध्यक्ष चिरन शर्मालाई जिम्मा दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us