रसुवागढी भन्सारमा बैंक नहुँदा कारोबारमा समस्या

काठमाण्डु टुडे २०७१ असार ७ गते १३:०५ मा प्रकाशित

रसुवा, ७ असार– उत्तर छिमेकी चीनको सीमा क्षेत्र रसुवागढी नाकाको भन्सार कार्यालयमा कुनै पनि बैंकका शाखा नहुँदा राजस्व दाखिलामा समस्या उत्पन्न भएको छ ।
आर्थिक कारोबारका लागि रसुवागढी नाकामा कुनै पनि बैंकको शाखा नहुदाँ भन्सार राजस्व संकलनलाई समस्या भइरहेको कर्मचारीहरु बताउँछन् ।
भन्सारको राजस्वबापत संकलित रकम बैंक दाखिला गर्नुपर्ने हुन्छ । तर रसुवागढी नाकामा कुनै पनि बैंकको शाखा नहुँदा पैसा बोकेर कर्मचारी सदरमुकाम धुन्चे पुग्न बाध्य छन् । भन्सार कार्यालयबाट सदरमुकाम ३२ किलोमिटर टाढा छ ।

त्यसरी सधैं रकम बोकेर सदरमुकामका बैंक पुग्नुपर्दा असुरक्षा महसुस हुने गरेको कर्मचारीको भनाइ छ । रसुवागढी भन्सारबाट आयात निर्यातको काम सुरु भएको लामो समय हुदाँ पनि बैंकको शाखा नहुँदा पैसाको जोखिम मोलेर काम गर्नुपरिरहेको नेपाल चीन केरुङ व्यापार संघका सचिव मकुन्द पौडेलले बताए ।
रसुवागढी नाकाबाट दैनिक जसो मैदा, घ्यू, सख्खर, चाउचाउलगायत अन्य तयारी सामान निर्यात हुने गरेको छ भने चीनबाट तयारी पोसाक, चकलेट स्याउ, जिम्बु च्याङ्ग्रा नेपाल आयात हुन्छ ।

यस्तै भन्सार कार्यालयमा सञ्चार सुविधा, भौतिक पुर्वाधार निर्माण हुन सकेको छैन । छिमेकी चीनले भने सिमापुल निर्माणसँगै भन्सार कार्यालय, खाद्यपरीक्षण ल्याब, पशु तथा कृषि क्वारेन्टाइन अध्यागमन सबै एकै ठाउँमा चलाउने गरी भवन निर्माणको कामलाई तीव्रता दिएको छ ।  सिन्धुपाल्चोकको तातोपानीभन्दा चिलिमे नाका फराकिलो र ल्हाससँग दूरीको हिसाबले छोटो भएकाले चीन सरकारले यस नाकालाई प्राथमिकतामा राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us