
गोरखा, ७ असार– गोरखाको तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिएको घ्याल्चोक गाविसबाट वार्षिक १० करोडभन्दा बढीको तरकारी उत्पादन हुने गरेको छ ।
घ्याल्चोकका वडा नं १, २, ५, ६, ८ र ९ बाट सो रकम बराबरको तरकारी उत्पादन हुने गरेको स्थानीय भरतबाबु दुवाडीले जानकारी दिए । त्यहाँका किसानले उत्पादन गरेको तरकारी काठमाण्डुसहित पोखरा, लमजुङ, तनहुँ र गोरखामा खपत हुने गर्दछ ।
तरकारीखेतीबाट गाउँका प्रत्येक घरले वार्षिक एक लाखदेखि सात लाखसम्म आम्दानी गर्ने गर्दछन् । तरकारीखेतीबाट मनग्य आम्दानी हुने भएकाले गाविसका ज्यादै कम सङ्ख्यामा युवा विदेश पलायन भएका छन् । अधिकांश युवा तरकारीखेतीमा नै आकर्षित भएका छन् ।
घ्याल्चोकमा बन्दा, मूला, काउली, भेडी, भण्टा, टमाटर, फर्सी, घिरौाला आदि तरकारी उत्पादन गरिन्छ । खेतमा सिञ्चाइको सुविधा पुगेको भए पनि पाखा बारीमा तरकारीखेती गर्दा भने आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय कृषकहरू बताउँछन् ।