नयाँ जिरे खुर्सानी आउँदै

काठमाण्डु टुडे २०७१ असार ७ गते ४:२० मा प्रकाशित

jituनेपाल टेलिभिजनमा हरेक सोमबार प्रसारण हुने हाँस्य टेलिश्रृखंला जिरे खुर्सानीको अव नयाँ भाग आउने भएको छ । लामो समय देखि पुरानै भागहरु दोहोरिएर आइरहेको थियो ।

बिज्ञापन एजेन्सी मिडिया हवले तिर्नुपर्ने रकमको केही प्रतिशत जिरे खुर्सानी युनिटलाई उपलव्ध गराएपछि नयाँ सुटिङ थालिएको हो । जिरे खुर्सानीका निर्देशक जितु नेपालले भने ‘ कलाकारको पारिश्रमिक लामो समय देखि रोकिएको थियो, पाउनुपर्ने रकमबाट निक्कै थोरै हात परेको छ । त्यसैले आउँदो सोमबार देखि नयाँ भाग आउँछ । ’

सोमबारका लागि सुक्रबार सुटिङ समेत गरी सकेको नेपालले बताए । मिडिया हवले लामो समयदेखि पैसा दिन नसक्दा कलाकारलाई काम गराउन धौ धौ परेको उनको भनाई छ । पुरानै भागहरु प्रसारण भइरहँदा देश विदेशका दर्शकले निक्कै गुनासो गरेको जितुले बताए ।

उनले भने ‘ दर्शकको गुनासो थेग्न नसक्ने गरी आयो, त्यसैले थोरै रकम हात लागेपनि नयाँ भागको लागि काम सुरु गरको हौं । ’ आगामी आर्थिक मसान्तसम्म बाँकी बक्यौता रकमको छिनोफानो भएपछि मात्रै थप कार्यक्रमको लागि सम्झौता हुने गरी छलफल मिडिया हव र जिरे खुर्सानीबीच भएको छ ।

मिडिया हवका निर्देशक सोम धितालले दिनुपर्ने रकम पुरै दिन नसकेको तर आपसी समझदारीमा नयाँ भाग आउने बताए । धिताल भन्छन ‘ सवै कुरा मिलिसकेको छैन, अलिअलि रकम उपलव्ध गराए, अव नयाँ भाग जिरे खुर्सानी आउँछ । ’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us