स्विस बैंकमा नेपालीको नौ अर्ब २१ करोड निक्षेप

काठमाण्डु टुडे २०७१ असार ६ गते १३:०६ मा प्रकाशित

काठमाण्डु, ६ असार – के स्विस बैंकमा नेपालीहरुको खाता छ ? बिहिवार प्रकासित एउटा विवरणले स्विस बैंकमा नेपालीको खाता भएको र त्यसमा अर्बौं रुपैयाँ मौज्दात रहेको तथ्य सार्वजनिक भएको छ ।

swiss bankझण्डै तीन सय बैंक भएको स्वीजरल्याण्डलाई गैरकानूनी प्रक्रियाबाट आम्दानी गरेको रकम लुकाउन प्रयोग गरिन्छ । स्विजरल्यान्डको केन्द्रिय बैंक स्विस नेसनल बैंकले प्रकाशित गरेको बैंक्स इन स्विजरल्यान्ड २०१३ रिपोर्टमा नेपालीको नौ अर्ब २२ करोड रुपैयाँ अर्थात आठ करोड ५० लाख स्विस फ्र्याङ्क मौज्दात रहेको विवरण सार्वजनिक गरेको छ ।

तर यो प्रतिवेदनमा कुन बैंकको कुन खातामा कति रकम राखिएको छ र यो रकम कसको हो भन्ने विवरण भने खुलाइएको छैन् । स्विजरल्याण्डमा ठूलो रकम भेटिएपछि अब प्रश्न उठ्न थालेको छ, के स्विस खातामा पूर्वराजा रानी विरेन्द्रको रकम मौज्दात छ ? के नेपालीले गैरकानूनी रुपमा कमाएको पैसा राख्न स्वीस बैंकहरु प्रयोग हुने गरेको हो ? के यो रकम नेपाल ल्याउने कुनै उपाय छ ? पूर्वराजा रानीको सम्पत्ती संरक्षण गर्दै आएको नेपाल ट्रष्टले विदेशी बैंकमा मौज्दात रकमको विवरण अहिलेसम्म पाउन सकेको छैन् ।

तर नयाँ रिपोर्टले फेरी एकपटक नेपाल ट्रष्टलाई रकम खोज्न भने दवाव सिर्जन गर्नेछ । के नेपालले स्विस खातामा भएको रकम नेपाल ल्याउन सक्छ ? यो प्रश्नको पनि जवाफ जटिल नै छ । भारतले पनि विदेशमा जम्मा भएको कालोधन भित्र्याउन निक्कै पहिलेदेखि पहल गरिरहेको छ ।

पछिल्लो पटक नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि विदेशमा लुकाएर राखेको सम्पत्ती खोज्न न्यायाधीशको नेतृत्वमा एउटा एसआईटि गठन गरिएको छ । बै‌ककाे प्रतिवेदनकाे एक अ‌श नयाँ प्रतिवेदनअनुसार स्विस बैंकमा नेपालीको मौज्दात अघिल्लो बर्षको तुलनामा चार अर्ब ४४ करोड रुपैयाँले घटेको हो ।

सन् २०१२ मा त्यहाँका बैंकहरुमा नेपालीको १२ करोड ६० लाख स्विस फ्र्याङ्क बराबरको नगद थियो । स्विस बैंकिङ प्रणालीमा राखिएको सम्पत्तिको स्रोत नखोजिने र निक्षेपकर्ताको विवरण अन्यन्त गोप्य राखिने हुँदा विश्वभरको पैसा त्यहाँ पुग्ने गरेको छ ।

भ्रष्टाचार लगायत गलत तवरले कमाएको पैसा समेत सुरक्षित राख्न त्यहाँ पुर्याउने गरेको बताइन्छ । स्विस बैंकमा नेपालीको पैसा घटे पनि छिमेकी भारतका निक्षेपकर्ताको भने बढेको छ । स्विस बैंकमा भारतीयहरुको १४ हजार करोड भारु अर्थात दुई अर्ब स्विस फ्र्याङ्क भन्दा बढि रहेको जनाइएको छ ।

सन् २०१३ भरमा भारतीयको रकम ४० प्रतिशतले बढेको हो । सन् २०१२ को अन्त्यमा उनीहरुले एक अर्ब ४२ करोड स्विस फ्र्याङ्क मात्र मौज्दात गरेका थिए ।   सन् २०१२ भरमा भने स्विस बैंकमा रहेको भारतीयको रकम एक तीहाइले घटेको थियो । सन् २०१३ मा त्यहाँ रहेको रकम मध्ये एक खर्ब ९५ अर्ब स्विस फ्र्याङ्क सिधै भारतीय नागरिक तथा संस्थाहरुको नाममा मौज्दात छ । बाँकी सात करोड ७३ लाख भने बिभिन्न बिचौलिया तथा वेल्थ म्यानेजरहरुको नाममा राखिएको छ ।

भारतलगायत विश्वका धेरै देशहरुले विदेशी निक्षेपकर्ताको विवरण सार्वजनिक गर्न स्विजरल्यान्डलाई दबाद बढाएका बेला स्विस नेशनल बैंकको पछिल्लो तथ्याङ्क प्रकाशित भएको छ । स्विजरल्यान्डका सरकारी अधिकारीहरुले कानुनी प्रावधान देखाएर विदेशीको विवरण दिन अटेर गर्दै आएका छन् ।

स्विस नेशनल बैंकले विदेशी निक्षेपकर्ता भन्दा स्वदेशकै व्यवसायमा बैंकहरुलाई केन्द्रित हुन निर्देशन दिएको समेत बताएको छ । त्यसै कारण बर्षेनी विदेशीको मौज्दात घटेको उसको भनाइ छ । तर, भारतको सन्दर्भमा भने ‘कालो धन’को विरोध गर्ने नरेन्द्र मोदी सत्तामा आएको बेला स्विस बैंकमा भारतीयको पैसा बढेको विवरणले स्विजरल्यान्ड सरकार माथिको दबाव अझ चर्को हुने सम्भावना देखिएको छ ।

भारत आफैंले समेत विषेश अनुसन्धान टोली गठन गरेर स्विजरल्यान्ड लगायत विश्वका बिभिन्न मुलुकमा आफ्ना नागरिकले राखेको ‘कालोधन’ खोजि सुरु गरि सकेको छ । भारतीयको बढे पनि विश्वका अरु मुलुकका निक्षेपकर्ताको रकम भने स्विस बैंकमा निरन्तर घट्दो छ ।

सन् २०१३ भरमा विदेशी निक्षेपकर्ताको एक खर्ब ३२ अर्ब स्विस फ्र्याङ्क बराबरको रकम त्यहाँबाट बाहिरिएको छ । जुन अहिलेसम्मको उच्च गिरावट हो । विदेशीको रकमलाई त्यहाँको केन्द्रिय बैंकले स्विस बैंकहरुको दायित्व तथा ग्राहकलाई तिर्न बाँकी रकम नाम दिएर समग्र अंक मात्र प्रकाशित गरेका छन् ।

बैंकले विदेशीले राखेको रकम कुन मुद्रामा हो भन्ने विवरण समेत खुलाएको छैन । स्विजरल्यान्डमा कुल दुई सय ८३ बैंक छन् । त्यसमा युबिएस र क्रेडिट स्विस ठुला बैंकको रुपमा वर्गीकृत छन् । सन् २०१३ को सुरुमा बैंकहरुको संख्या तीन सय थियो ।

विदेशीले सञ्चालन गरेको ९३ बैंक स्विजरल्यान्डमा छन् । यी बैंकमा एक लाख २५ हजार कर्मचारी काम गर्छन् । अमेरिकी कम्पनी तथा व्यक्तिहरुको रकम समेत स्विस बैंकमा बढेको छ ।

अमेरिकी प्रशासनले स्विस बैंकमा पैसा लुकाउने प्रबृत्तिको चर्को विरोध गर्दै आएको छ । तथापी सन् २०१३ को अन्त्यमा चार करोड स्विस फ्र्याङ्कले बढेर स्विस बैंकमा अमेरिकी सम्पत्ति समेत एक अर्ब ९३ करोड फ्र्याङ्क बराबर पुगेको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us