४१ लाखको अवैध सुर्ती बरामद, पाँच लाखको अवैध सुर्ती नष्ट

काठमाण्डु टुडे २०७१ असार ६ गते १०:१७ मा प्रकाशित

भक्तपुर, ६ असार – अवैध रुपमा सुर्तीजन्य पदार्थको कारोबार गर्ने केरी टोबाको प्रडक्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय भक्तपुरले रु ४१ लाख ३७ हजार १४८ जरिवाना गरेको छ ।

भक्तपुरको दुवाकोट गाविस निकोसेरामा केरी टोबाको नाममा एक ठाउँमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने इजाजत लिएर दुवाकोटको चार ठाउँमा अवैध रुपमा सुर्तीजन्य पदार्थको उत्पादन गरेर राजस्व छली गरेको पाइएको आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत उत्तमभक्त वाग्लेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व विभागको संयुक्त टोलीले केरी टोबाकामा केही दिनअघि छापा मारेर अवैध रुपमा उत्पादन गरेको सुर्ती, गुट्खा, तयारी खैनी, धूलो सुपारी, धूलो सुर्ती र विभिन्न रसायन बरामद गरेको थियो ।

रु ४१ लाख ३७ हजार १४८ मूल्य बराबरको अवैध सामान फेला पारेपछि कार्यालयले केरी टोबाको प्रालिका सञ्चालक अमित श्रेष्ठसँग बिगो बराबरको जरिवाना लिने निर्णय गरेको वाग्लेले जानकारी दिए ।

त्यसैगरी आन्तरिक राजस्व कार्यालय भक्तपुरले पाँच वर्षअघि नियन्त्रणमा लिएको अवैध सुर्ती आज नष्ट गरेको छ । मिराज प्रोडक्सन नेपाल नलिञ्चोक काभ्रेमा अन्तःशुल्क इजाजत नलिई सुर्ती उत्पादन गरेको पाइएपछि जफत गरिएको र त्यसलाई आज सञ्चारकर्मी, प्रहरी र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको रोहवरमा नष्ट गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत वाग्लेका अनुसार अवैध कटिङ सुर्ती १० बोरा, गोल्डेन लाङल (तयारी) सुर्ती ७० बोरा, धूलो खैनी २० बोरा र मिसन सुर्ती नौ झोला नष्ट गरिएको हो ।

बिक्रीका लागि तयारी पारिरहेको अवस्थामा गोदामबाट प्रहरी प्रभाग जगातेले २०६५ सालमा उक्त सुर्ती नियन्त्रणमा लिएर राजस्व कार्यालयलाई बुझाएको थियो । कार्यालयले मिराज प्रोडक्सनलाई सुर्तीको मूल्य बराबर अर्थात् रु पाँच लाख २२ हजार ५९५ जरिवाना तिराएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us