ओली भन्छन्, ‘माधव नेपाल धुर्त’

काठमाण्डु टुडे २०७१ असार ६ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, ६ असार – नेकपा एमाले अध्यक्षका दाबेदार केपी शर्मा ओलीले पुस्ता हस्तान्तरण भनेको क्याम्पसमा भाग लगाएर सभापति परिवर्तन गरेजस्तो नभएको बताएका छन् ।

KP-Oliनेतृत्व हस्तान्तरणको कुरा फलाक्दै हिड्ने वरिष्ठ नेता माधवकुमार नेपालको प्रस्तावलाई धुर्त भन्दै कटाक्ष गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेता ओलीले नयाँ पुस्ताको प्रस्ताव ल्याउन चुनौती दिए । उनले भने–’एउटा कपाल तिल चामल नभएको होस्, जुँगा नफुलेको होस् र गाला चाउरी नपरेको होस् ।’ ओलीले नेतृत्व हस्तान्तरण भनेको क्याम्पसमा स्ववियु सभापति खोजे जस्तो नहुने बताए ।

‘नेतृत्व हस्तान्तरण भनेको साठी वर्षका नेताले पचास वर्षकालाई, पचासले चालिसलाई गर्दै क्याम्पसमा स्ववियु सभापति खोजे जस्तो होइन’ ओलीले भने–’पुस्तान्तर अघि अनुभव, योगदान, पहिचानको आधारमा नेतृत्व बन्दै जाने हो’ ।

एमाले नेता ओलीले पार्टीमा लामो समय नेतृत्व ओगटेर बस्दा पनि नयाँपन दिन नसकेको र नयाँ नेतृत्वका लागि उत्तराधिकारी आउन पनि नदिएको आरोप लगाएका छन् । उनले आफू अध्यक्ष भएपछि नेतृत्व हस्तान्तरणको प्रक्रिया सहज रुपमा सुरु हुने दावी गरे ।

कार्यक्रममा उपाध्यक्ष वामदेव गौतमले महाधिवेशनमा जाँदा पार्टीका मन्त्रीहरु सरकारी गाडी नै दिएर जाने बताए । उनले भने–’राज्यले दिएकै गाडी चढेर भोट हाल्न गइन्छ । त्यसलाई दुरुपयोग भने भनुन । ’

यस्ताे छ अाेलीकाे विज्ञप्ति

 सञ्चारकर्मी मित्रहरू,

१. नवौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित यस विशेष पत्रकार भेटघाट उपस्थित हुनुभएका यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु । लामो समय उपचारका क्रममा रहनुपरेका कारण यसबीच तपाइँहरूसँग नियमित र व्यवस्थित भेटघाट गर्ने अवसर प्राप्त हुनसकेन । तर पनि यहाँहरूले मेरो स्वास्थ्यस्थितिप्रति राखिरहनु भएको गम्भीर चासो र पार्टी निर्माणसम्बन्धी मेरा दृष्टिकोणलाई दिनुभएको महत्वप्रति मैले अद्यावधिक जानकारी राखिरहेको छु । यसप्रति म यहाँहरूप्रति आभारी छु । महाधिवेशनसम्बन्धी समाचार र विचारहरूलाई आ–आफ्ना सञ्चार माध्यमहरूमा निरन्तर र बिस्तृत स्थान दिनुभएकोमा  धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यहाँहरूको रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।

२.     नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनप्रति सर्वत्र चासो, उत्सुकता र जिज्ञासा छन् । हाम्रो पार्टी लामो र गौरवशाली इतिहास भएको, लोकतन्त्र, शान्ति र सामाजिक–आर्थिक रूपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको र वर्तमान राजनीतिक शक्ति सन्तुलनमा निर्णायक हैसियत राख्ने पार्टी हो । नेकपा (एमाले)ले अवलम्बन गर्ने नीति र स्थापित गर्ने नेतृत्वले राष्ट्रिय राजनीतिमै गहिरो र दूरगामी प्रभाव पार्छ । त्यसैले नै पार्टी महाधिवेशनप्रति यति धेरै चासो राखिएको हो भन्ने हामीले बुझेका छौं र महाधिवेशनलाई औपचारिकताका हिसाबले होइन, राष्ट्रलाई नै सुस्पष्ट दिशा दिने हिसाबले सम्पन्न गर्न चाहिरहेका छौं । पार्टीको तर्फबाट म यहाँहरूमार्फत् आम नेपाली जनतालाई आश्वस्त तुल्याउन चाहन्छु– नेकपा (एमाले)ले यहाँहरूका अपेक्षालाई उच्च कदर गर्नेछ र तिनलाई पूरा गर्न आफ्नो सम्पूर्ण उर्जा खर्च गर्नेछ ।

३.     युगौंदेखि हावी निरङ्कुश राणातन्त्र/राजतन्त्रका कारण जनताको स्वतन्त्रता र मुलुकको विकासका मार्ग अवरुद्ध भए । सात सालको परिवर्तनले ल्याएको सीमित प्रजातन्त्र मूलतः दरबारको षडयन्त्र र अंशतः राजनीतिक नेतृत्वका अदूरदर्शिताका कारण दस बर्षमै खोसियो । तीस बर्षसम्म बलिदानी सङ्घर्ष गरेर ल्याएको प्रजातन्त्रले स्वतन्त्रता र समृद्धिको जुन संभावना सिर्जना गरेको थियो, तत्कालीन सत्ताधारी पार्टीको सङ्कीर्णता, सर्वसत्तावाद र भ्रष्टताका कारण ती पनि सङ्कटमा परे । उग्रवामपन्थी हिंसा र प्रतिहिंसाको शृङ्खलाले मुलुकलाई दसौं बर्ष पछाडि धकेल्यो ।

राजा ज्ञानेन्द्रको प्रतिगामी कदमले झन् राष्ट्र नै असफल हुने खतरा पैदा भयो । इतिहासका यी सबै हानिकारक श्रृङ्खलालाई २०६२/६३ को ऐतिहासिक परिवर्तनले अन्त्य गर्ने आधार निर्माण गरेको छ र लोकतान्त्रिक, शान्त र समृद्ध नेपाल निर्माणको विराट संभावना सिर्जना गरेको छ । तर सङ्क्रमणकाललाई सही व्यवस्थापन गर्न नसक्दा बितेका आठ बर्ष निरन्तर अस्थिरता र आशङ्कामा व्यतीत भएका छन् । सत्ता कब्जाका उग्रवामपन्थी सोच, सङ्कीर्ण र अतिवादी जातीय–क्षेत्रीय चिन्तनहरू र गणतन्त्रलाई सङ्कीर्ण दलीय, गुटीय र निजी स्वार्थका लागि भ्रष्टीकरण गर्ने प्रवृत्तिका कारण यो मूल्यवान अवधिमा मुुलुकले अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन ।

४.     सङ्क्रमणकाललाई छिटोभन्दा छिटो टुङ्ग्याएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नु, संविधान निर्माण गरी प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्नु, जनतालाई सुख र सुविधा, समाजलाई एकताबद्ध र राष्ट्रलाई समृद्धि प्रदान गर्न सङ्घीयतासहित राज्यको लोकतान्त्रिक पुनः संरचना गर्नु अनि न्यायपूर्ण समृद्ध र समुन्नत नेपालको आधारशीला निर्माण गर्नु यतिबेलाको मुख्य राष्ट्रिय एजेण्डा हो । राष्ट्रको यो एजेण्डा एमालेको पनि एजेण्डा हो र हाम्रो महाधिवेशनको मुख्य अभिभारा यसैलाई सफल पार्न एउटा गतिशील, सक्षम र भिजनरी पार्टी निर्माण गर्नु हो ।

५.     नेपालसँग समृद्धि र समुन्नतिका अपार संभावनाहरू छन् । प्रचूर प्राकृतिक र अनुपम सांस्कृतिक सम्पदाहरूको सही सदुपयोगबाट निकै छोटो अवधिमा नेपाललाई विकसित राष्ट्रको दाँजोमा उभ्याउन सकिन्छ । परिश्रमी, निष्ठावान र इमान्दार मानव सम्पदालाई उचित अवसर प्रदान गर्न र सही ढङ्गले व्यवस्थापन गर्न सकियो भने नेपालले संसारका अन्य मुलुकसँग सहजै प्रतिस्पर्धा गर्नसक्छ । मरुभूमिमा हरियाली, समुद्रमा सहर र अन्तरिक्षमा बस्ती बसालिंदै गरेको यस युगमा पनि नेपाल यस्तो पछौटे अवस्थामा रहनु हामी सबैका लागि ठूलो चुनौती हो ।

निरङ्कुश शासकहरूका विरुद्ध अविराम सङ्घर्ष गरेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने पार्टीहरूका सामु अब गरिबी, अभाव, विभेद र पछौटेपन विरुद्ध सङ्घर्ष गर्ने र त्यसमा विजय हासिल गर्ने नयाँ अग्निपरीक्षा उपस्थित भएको छ । नेकपा (एमाले) यो अभिभारा बहन गर्न सक्षम छ भन्ने विश्वास यहाँहरूलाई दिलाउन चाहन्छु । किनभने पार्टीसँग जनताको बहुदलीय जनवादजस्तो सही सिद्धान्तको मार्गदर्शन छ, पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीजस्ता अग्रजहरू तथा अनगिन्ती सहिदहरूको उत्प्रेरणा छ अनि लाखौंलाख जनताको आड र भरोसा छ  । नेकपा (एमाले)ले केही बर्षमात्रै मौका पायो भने मुलुकलाई स्थायित्व, समृद्धि र समुन्नतिको दिशामा कुशल नेतृत्व गर्नेछ भन्नेमा विश्वस्त रहन म सबैमा आग्रह गर्दछु ।

६.     पार्टी महाधिवेशन यही अभिभारा पूरा गर्न कार्ययोजना बनाउने महत्वपूर्ण मञ्च हो । म चाहन्छु– सिङ्गो पार्टी यिनै महान बहसमा रचनात्मक, सिर्जनात्मक र स्वतन्त्र विश्लेषण क्षमताका साथ सहभागी होस् । तर पार्टी महाधिवेशनलाई यस्ता नीतिगत प्रश्न र राष्ट्रिय एजेण्डामा होइन, नितान्त नेतृत्वको प्रतिस्पर्धामा सीमित गर्न लागिएको देख्दा मलाई अलि खिन्नता महसुस भएको छ । आन्तरिक लोकतन्त्र हाम्रो स्वतन्त्र चयनको बिषय हो र सहमति नभएको अवस्थामा स्वस्थ प्रतिस्पर्धा एकदमै स्वाभाविक र सहज बिषय हो ।

तर यति सहज बिषयलाई पनि एकदमै असहज बनाएर, पार्टीको विधानका अक्षरलाई तिनको मर्मबाट अलग गर्दै अपव्याख्या गरेर, पार्टीभित्रको छलफललाई अस्वस्थ र अप्रिय स्वरूप दिंदै पार्टीमा कित्ताकाट, अमुक प्रवृत्ति विरुद्ध युद्ध घोषणा र अमुक व्यक्तिका हातमा नेतृत्व जाँदा पार्टी ध्वस्त हुन्छ भन्नेजस्ता चरम पूर्वाग्रही, द्वेषयुक्त र कटुतापूर्ण टिप्पणी गरेर महाधिवेशनलाई मुख्य एजेण्डाबाट बराल्न खोजिएकोमा म दुःखी छु । म यत्ति भन्न चाहन्छु– जससँग जे छ, उसले त्यही दिने हो, त्यही अभिव्यक्त गर्ने हो । मलाई यस्तो अस्वस्थ र अपसंस्कृतिमा प्रतिस्पर्धा गर्नुछैन । मेरो मनमा मप्रति सद्भाव राख्ने र जानेर या नजानेर नकारात्मक भाव राख्ने पार्टीका सबै नेता कार्यकर्ताप्रति सम्मान तथा सद्भाव छ ।

यो पार्टी हामी सबैको सामूहिक रगत, पसिना, विवेक र सक्रियताकोे उपज हो र यसलाई आगामी दिनमा पनि सामूहिक नेतृत्वका साथ नै अगाडि बढाउने हो । पहाडको कच्ची बाटोमा गाडी दायाँबायाँ ढल्किँदा मोटरको डण्डी समाएर मैले नै गाडीलाई दुर्घटनाबाट बचाएँ भन्नेजस्तो भ्रम म पाल्दिनँ । मेरो नितान्त निजी जीवनलाई समेत लिएर गरिएका टिप्पणीहरूलाई म निरपेक्षभावले हेरि÷सुनिरहेको छ । हामी पार्टी निर्माण गर्न गइरहेका छौं र यसमा सबै कमरेडहरूको सहयोगको खाँचो छ । म दोहो¥याउन चाहन्छु– भोलि जिम्मेवारी दिने बेलामा सम्बन्धित कमरेडहरूको योग्यता, क्षमता र आन्दोलनमा दिएको योगदानलाई मुख्य आधार बनाइनेछ ।

७.     भोलिदेखि महाधिवेशन प्रतिनिधिहरूको चयन हुँदैछ । म देशभरिका आम सङ्गठित पार्टी सदस्यहरूलाई आह्वान गर्न चाहन्छु– तपाइँहरू आफूमा अन्तरनिहीत पार्टीको सार्वभौमसत्ता महाधिवेशन प्रतिनिधिहरूलाई हस्तान्तरण गर्दै हुनुहुन्छ । महाधिवेशन यस्तो निर्णायक थलो हो– जसले पार्टीको मात्रै होइन, राष्ट्रकै राजनीतिलाई निर्णायक मोड दिने सामथ्र्य राख्दछ । दोस्रो महाधिवेशनले कमरेड पुष्पलालको नीति र नेतृत्व स्थापित गर्न नसक्दा राजाको प्रतिगामी कदम अगाडि पार्टी कसरी निरीह र निष्प्रभावी हुनपुग्यो भन्ने हामीले पढेका छौं ।

सातौं महाधिवेशनले निरङ्कुश राजतन्त्रविरुद्ध सङ्घर्षको ठोस दिशा तय गर्न नसक्दा पार्टी संविधानसभा र गणतन्त्रको नायक हुनबाट कसरी बञ्चित भयो भन्ने पाठ हामीले सिकेका छौं । चौथो महाधिवेशनले सही कार्यदिशा पारित गर्दा कसरी संयुक्त जनआन्दोलनको आँधीबेहरी सिर्जना गरी प्रजातन्त्र स्थापना गर्न सकियो भन्ने हामीले देखेका छौं र पाँचौं महाधिवेशनबाट जबजजस्तो सही विचार पारित हुँदा विश्वव्यापी सङ्कटका बेलामा पनि कसरी नेपालको कम्युनिष्ट आन्दोलनले ऐतिहासिक उचाइ चुम्नसक्यो भन्ने कुराको साक्षी हामी आफै छौं । त्यसैले महाधिवेशनमा पार्टीलाई सही दिशावोध गर्नसक्ने सामथ्र्यसहितका प्रतिनिधि चयन गरेर पठाउन म सबैमा हार्दिक आह्वान गर्दछु ।

८.     महाधिवेशनमा हामीले नेतृत्व हस्तान्तरणको बिषयमा उच्च महत्वका साथ छलफल गरिरहेका छौं । एकचोटी क्रान्ति गरेपछि त्यसैको बलमा बिनाजनअनुमोदन कम्युनिष्ट पार्टी सधैभरि सत्तामा बसिरहने  र एकपल्ट नेतृत्व गरेपछि मुख्य नेता त्यसैको आडमा आजीवन पदमा टाँसिइरहने प्रवृत्तिविरुद्ध हामीले कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नयाँ अवधारणा अगाडि सारेका हौं ।

यो कुनै व्यक्ति विशेषका विरुद्ध लक्षित छैन, कसैलाई पदासीन बनाउने सङ्कीर्ण स्वार्थ पनि यसमा लुकेको छैन । पार्टीमा योजनाबद्ध ढङ्गले नेतृत्व विकास गर्ने पद्धति स्थापित हुन नसकेको र पार्टी नेतृत्व फेरि पनि घुमाइफिराइ सीमित व्यक्तिहरूकै वरिपरि रहने स्थितिको अन्त्य गर्न मैले नेतृत्व हस्तान्तरणको बिषयलाई एउटा अभ्यासका रूपमा स्थापित गर्न खोजेको हुँ । यस हिसाबले म त माध्यम मात्रै बन्न खोजेको हुँ ।

                नेतृत्व हस्तान्तरणको यो प्रश्न केबल पार्टीविशेषको मात्रै प्रश्न होइन । पुष्पलाल, मनमोहन अधिकारी र बीपी कोइरालाको पुस्ताले सुरु गरेको लोकतान्त्रिक आन्दोलनले आज नयाँ उचाइ प्राप्त गरेको छ । यसलाई संस्थागत गरेपछि अब समृद्ध नेपाल निर्माण गर्ने अभिभारा हामीले त्यो पुस्तालाई सुम्पनेछौं, जो तुलनात्मक रूपमा खुकुलो वातावरणमा जन्मियो, हुर्कियो र खारियो । आफ्ना सङ्कीर्ण सत्तास्वार्थका लागि युवाहरूलाई विभाजित नगर्ने हो र पाको पुस्ताले रचनात्मक मार्गदर्शन गर्ने हो भने पार्टी र राष्ट्र दुबै ठाउँमा नेतृत्व गर्न वैकल्पिक पुस्ता तयार भइसकेको छ ।

तर आफूले मात्रै आकाश ताक्ने तर भुइँमा केही पनि उम्रिन नदिने सल्लाको बोटजस्तो प्रवृत्तिले गर्दा नै युवा नेतृत्वको विकास हुन सकिरहेको छैन । मन परेकालाई काखी च्याप्ने र आलोचनात्मक चेतसम्म राख्नेलाई पनि नकारात्मक आँखाले हेर्ने युवासम्बन्धी यो द्वैध  मापदण्डले राजनीतिमा युवाहरूको विकासमा बाधा उत्पन्न गरेको छ । म यस्तो प्रवृत्तिको सख्त विपक्षमा छु । पद्धति निर्माणको यति महत्वपूर्ण बिषयलाई तोडमरोड, अपव्याख्या र आक्रमण गरिएको देख्दा म अचम्भित छु । तर पनि इतिहासको गति अब रोकिने अवस्थामा छैन । नेतृत्व हस्तान्तरणको यो नीतिगत अन्तर्य र प्रयोजनलाई सही ढङ्गले आत्मसात् गर्दैै अघि बढ्न म सम्बद्ध सबै कमरेडहरूलाई अनुरोध गर्दछु ।

केपी शर्मा ओली

संसदीय दलका नेता

नेकपा (एमाले)

६ असार, २०७१

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us