पर्यटन बोर्ड बन्द हुँदा करोडौँ घाटा

काठमाण्डु टुडे २०७१ असार ५ गते ११:०४ मा प्रकाशित

काठमाण्डु, ५ असार – पर्यटन बोर्डमा झन्डै दुई महिनादेखि चलिरहेको पर्यटन व्यवसायीको आन्दोलन र अस्तव्यस्तताले बोर्डलाई करोडभन्दा बढीको घाटा भएको छ ।

NTBबोर्डलाई मात्र होइन यसले सरकारको राजस्वमा पनि लाखौँको घाटा भएको पर्यटन बोर्डका कर्मचारी बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने, “झन्डै दुई महिनाको आन्दोलनले बोर्डलाई करोडभन्दा बढी घाटा भएको छ, आन्दोलनले बोर्डको मुख्य स्रोत टिम्स कार्ड वितरण ठप्प छ, यसले बोर्ड तथा सरकारलाई राजस्वमा घाटामात्र होइन सिङ्गो पर्यटन क्षेत्रमै नकारात्मक सन्देश गएको छ, समस्या समाधान गर्नेतर्फ कसैको चासो छैन ।”

बोर्डको दरिलो आम्दानीको माध्यम रहेका पर्यटकका लागि दिइने अनुमतिपत्र टिम्स कार्ड व्यवसायीको आन्दोलनका कारण डेढ महिनादेखि ठप्प छ । यसबाट बोर्डलाई दैनिक करिब रु चार लाख घाटा भएको छ । टिम्स कार्डबाट बोर्डलाई वार्षिक करिब रु २० करोड आम्दानी हुन्छ । जसले गर्दा बोर्डबाट सरकारलाई जाने राजस्व महिनाको रु २५ लाख घाटा हुन्छ ।

त्यस्तै बोर्डको अर्को ठूलो आम्दानीको स्रोत पर्यटक नेपाल घुमेर विदेश फर्कंदा प्लेन टिकटबापत एक पर्यटकबाट रु एक हजार बोर्डलाई तिनुपर्ने हुन्छ । यसबाट बोर्डले वार्षिक रु ६० करोड आम्दानी गर्दछ । तथापि यो आम्दानी भने नरोकिएको बोर्डका कर्मचारी बताउँछन् ।

युएनडिपीको परियोजनाअनुसार नेपालको पर्यटनलाई पब्लिक प्राइभेट पार्टनरसिपका रुपमा लिएर जाने अवधारणासहित सन् १९९९ अर्थात् २०५५ मा नेपाल पर्यटन बोर्ड स्थापना भएको थियो । यसमा ११ जना सञ्चालक हुन्छन् । यसमा आधा सदस्य निजी क्षेत्रका पर्यटन व्यवसायी रहने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us