बिजयी जुलुश निकाल्न टेरियाका समर्थक मुम्बईमा

काठमाण्डु टुडे २०७१ असार ५ गते ६:१० मा प्रकाशित

teria

काठमाण्डु – भारतीय टेलिभिजनमा प्रसारण भइरहेको डिआइडी लिटिल मास्टरको फाइनलमा पुगेकी नेपाली चेली टेरिया फौंजा मगरलाई जिताउन र बिजयी जुलुश निकाल्न रुपन्देहीका बिभिन्न क्षेत्रका बासिन्दा मुम्बई पुगेका छन् ।

मुम्बईमा रहेका र नेपालबाट जानेहरु मिलेर टेरियाको लागि भोट माग्नुका साथै हौंसला थप्न उनीहरु मुम्बई पुगेका हुन् । बुधवार रुपन्देहीको बुटवलदेखि तीस जनाको टोली मुम्बई प्रस्थान गरेको छ ।

टेरियालाई संगीत र नृत्य सिकाएको बागेश्वरी संगीतालयको संयोजनमा उनीहरु मुम्बई पुगेका पत्रकार टोपराज शर्माले काठमाण्डु टुडेलाई बताए ।

शर्माले भने ‘टेरियालाई जिताएर बिजयी जुलुश निकाल्न हामी आतुर छौं त्यसैले मुम्बई आएका हौं । ’ पत्रकार, व्यापारी, नेपाल मगर महिला संघलगायतको टोली मुम्बई पुगेको हो ।

रुपन्देहीको रुद्रपुर घर भएकी टेरियाका आफन्त समूह बनाएर र व्यक्तिगत रुपमा मुम्बई जाने तयारीमा पनि छन् । पत्रकार शर्माले नेपालमा रहेकालाई भोट गर्न आग्रह गरेका छन् । भोटिङ खुल्ला भएको जनाउँदै उनले भने ‘ सवै नेपालीलाई अवका केही दिन भोट गर्न ढिला नगरिदिन अनुरोध छ । ’

त्यस्तै टेरियाको आधिकारिक फेसवुक पेजमा समेत भोटका लागि अपिल गरिएको छ । फेसवुक पेजमा लेखिएको छ , ‘तपाईहरुको विश्वकप फुटवलतिर ध्यान जादाँ मलाई भोट गर्न छुटाउनुहोला नि ?’ ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै टेरिया मगर फाइनलमा पुगेकी हुन् ।

नेपालमा पनि टेरियालाई जिताउन र भोट माग्न बिभिन्न सामाजिक सञ्जालदेखि व्यक्तिगत पहल भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us