प्रतिनिधि चयन प्रारम्भिक नतिजामै नेपालको बहुमत

काठमाण्डु टुडे २०७१ असार ५ गते ५:४९ मा प्रकाशित

काठमाण्डु, ५ असार– नेकपा एमाले आसन्न नवौँ महाधिवेशनका लागि प्रतिनिधि छान्ने काम सुरु भएको छ ।

Uml-new-logoसुरुका चार जिल्लाको नतिजामा तीन जिल्लामा अध्यक्षका उम्मेदवार माधवकुमार नेपाल बलियो देखिएका छन् भने स्थायी कमिटी सदस्य केपी शर्मा ओली कमजोर देखिएका छन् ।

तेह्रथुममा छानिएका ९ प्रतिनिधिमध्ये ८ प्रतिनिधि नेपाल पक्षका छानिएका छन् । राष्ट्रिय खेलकुद परिषदका पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिना, पूर्वजिविस सभापति किशोरचन्द्र दुलाल, सञ्जय तम्वाहाङफे र ज्ञानमाया भुजेल ओलीपक्षका छन् भने नेपाल पक्षबाट लक्ष्मण तिवारी, अनुभूति बम, गोविन्दराज श्रेष्ठ, शिव ढुंगाना, विष्णुमाया बिक, विष्णुविक्रम सुब्बा, सोम गौतम र बेलीमाया भुजेल निर्विरोध चुनिएका छन् ।

यस्तै, सोलुखुम्वुमा सात सदस्यमध्ये चार सदस्य छानिन बाँकी छ । छानिएका तीन सदस्यमा नेपाल पक्षका २ र ओली पक्षका एक छन् । सोलुखुम्बुबाट मजदुर र दलित प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । पुष्पबाबु बस्नेत, र इन्द्रबहादुर विक नेपाल पक्षधर हुन् कल्पना नाछिरिङ खुलेका छैनन् ।

रसुवामा छानिएका ७ प्रतिनिधिमध्ये चार नेपाल पक्षका छन् भने तीन ओली पक्षका छन् । सभासद जनार्दन ढकाल र छेवाङ तेन्जिङ लामा, अशोक घिमिरे ओली पक्षका हुन् भने कर्णेल लामा, माधव अर्याल, शान्ति तामाङ र भरत विक नेपाल पक्षका हुन् ।

यस्तै, ताप्लेजुङको क्षेत्र नम्बर २ मा ६ प्रनिनिधि छानिएका छन् । तीमध्ये ५ प्रतिनिधि नेपाल पक्षधर छन् । ताप्लेजुङको २ नम्बर क्षेत्रबाट छानिएका प्रतिनिधिमा छिरिङ लामा, मंगलसिंह केदेम, चन्द्रमान बनेम, मणिशंकर पोमु, होमकुमारी साँवा, नेत्र नेपाली र मणि सुब्बा छन् ।

एमालेले ७ असारमा देशभर प्रतिनिधि चयनको लागि समय दिएको छ भने संविधानसभाको उपनिर्वाचन भएका चार जिल्ला र जनसंगठनमा १० असारमा प्रतिनिधि चयनका लागि समय दिएको छ । प्रारम्भिक नतिजामा नेपाल पक्ष बलियो देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us