सुवास निरौला भन्छन्, ‘अख्तियारले भने पनि ज्यान धरापमा राखेर कार्यालय जान्न’

काठमाण्डु टुडे २०७१ असार ५ गते ३:५३ मा प्रकाशित

काठमाण्डु, ५ असार–नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले आफूमाथि ज्यानको खतरा रहेकाले कार्यालय नजाने बताएका छन् ।
subas niraula
काठमाण्डु टुडेसँग कुरा गर्दै निरौलाले शान्ति सुरक्षा र जिउधनको भरपर्दो ग्यारेण्टी नभएसम्म कार्यालय नजाने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै दुई महिनादेखि ठप्प पर्यटन बोर्ड तीन दिनभित्र खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र बोर्डका अधिकारीलाई बुधबार निर्देशन दिएको थियो ।

तीन दिनभित्र कामबारबाही सुचारु नभए सम्वद्ध अधिकारीलाई कारबाही गर्ने चेतावनी अख्तियारले दिएको छ । निरौलाले आफूलाई पर्यटन व्यवसायीका नाममा ज्यान मार्ने धम्की आइरहेको दाबी गरे ।

‘मलाई पर्यटन व्यवसायीका नाममा पटकपट मार्ने सार्वजनिक धम्की आइरहेको छ’, निरौलाले भने, ‘जिउ ज्यान धरापमा पारेर कसरी कार्यालय जाऔं ?’ निरौलाले सर्वोच्च अदालतले आफूलाई कार्यकारी अधिकृतमा निरन्तरता दिन निर्देशन दिए पनि गृह प्रशासनले सुरक्षाको भरपर्दो व्यवस्था गर्न नसकेका कारण बोर्ड लामो समयदेखि बन्द हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।

आफूमाथि लागेको अनियमिताको आरोप प्रमाणित भए जेसुकै कारबाही भोग्न तयार रहेको भन्दै उनले कसैमाथि आरोप लाग्दैमा राजीनामा दिनुपर्ने वा देशै छाडेर जानुपर्ने माग जायज नभएको तर्क गरे ।

निरौलाले पर्यटन क्षेत्रमा बन्द हड्ताल नगर्ने र शान्ति क्षेत्र बनाउने भन्ने व्यवसायीले महिनौंसम्म बोर्ड बन्द गराएर अन्तार्रष्ट्रिय जगतमा नेपालको छवि धुमिल पारेको आरोप लगाए ।

निरौलाले अख्तियारले कार्यालयको कामकारबाही सुचारु गर्न दिएको निर्देशन भए सही भएको बताए । यसैबीच पर्यटन व्यवसायीले भने अख्तियारको निर्देशन आफूहरुको आन्दोलन कमजोर पार्ने र बोर्डमा भएको अनियमितता ढाकछोप गर्ने मनसायका साथ आएको आरोप लगाएका छन् । व्यवसायीले त्यसबारे पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us