
धनगढी, ४ असार– उद्योगमन्त्री कर्णबहादुर थापा कैलाली–६ का निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधीश यज्ञराज भट्टलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् ।
कैलाली–६ अन्तर्गत पर्ने धनगढीको क्याम्पस चोकमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री थापाले भट्ट नेतृत्वको टोलीलाई गाली गलौज गरेका हुन् ।
टोलीले आचारसंहिता विपरीत मन्त्रीले मत मागेको भन्दै सचेत गराएपछि थापा कड्किएका हुन् । आचारसंहिता अनुगमनका क्रममा सभास्थल पुगेको भट्ट नेतृत्वको टोलीले आचारसंहिता विपरीत कार्य नगर्न आग्रह गर्दा तपाईं को हो ? किन आउनुभएको ? तपाइलाई के अधिकार छ ? भन्दै हपारेका थिए ।
सरकारका मन्त्रीले देखाएको व्यवहारपछि अधिकृत भट्ट नेतृत्वको टोली सभास्थलबाट फर्किएको थियो । घटनापछि निर्वाचन अधिकृत भट्टले पत्रकारसँग मन्त्रीले चुनावीसभालाई सम्बोधन गर्न नपाउने कानुनी व्यवस्था विपरीत मन्त्री थापाले चुनावीसभालाई सम्बोधन गरेर एमालेका उम्मेदवारको पक्षमा मत मागेको बताए ।
‘आचारसंहिताविपरीत कार्य नगर्न आग्रह गर्दा उनेले अटेर गरी उल्टै विवाद गरे’, भट्टले भने, ‘यस विषयमा निर्वाचन आयोगलाई जानकारी गराइसकेको छु ।’