
गोरखा, ४ असार– लोडसेडिङका कारण जारी विश्वकप फुटबल हेर्न नपाएको झोकमा गोरखामा नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरिएको छ ।
मुलुकभर विश्वकपले माहौल तातिरहेका बेला लोडसेडिङका बारण खेल हेर्न नपाएको भन्दै गोरखा सदरमुकामका युवाले बुधबार सदरमुकामस्थित विद्युत प्राधिकरणको कार्यालयमा ताला लगाएका हुन् ।
गोरखामा चार दिनयता बिजुली अनियमित भएको छ । छिनमै आउने र छिनमै जाने समस्याका कारण सर्वसाधारण आजित बनेका छन् ।
वर्षातसँगै आएको हावाहुरीले ढालेको पोल समयमै नठड्याइएका कारण बिजुली आउन नसकेको हो ।
प्राधिकरण गोरखा शाखाका प्रमुख सुरेशकुमार महतोले हावाहुरीले विभिन्न स्थानमा पोल ढलेका कारण बिजुली नियमित हुन नसकेको बताए । उनले मर्मतको क्रममा रहेकाले केही दिनभित्रै समस्या समाधान हुने जानकारी दिए ।
स्थानीयको दबाबपछि प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले तत्काल मर्मत गरेर बिजुली नियमित गर्न निर्देशन दिएका छन् । यसैबीच गोरखा बजारमा खानेपानीको हाहाकार भएको छ ।
पृथ्वीनारायण सहरी खानेपानी आयोजनाले तीन सातायता खाने पानी वितरण नगरेको भन्दै स्थानीयले आयोजनाको कार्यालयमा पनि तालाबन्दी गरेका छन् ।