तीन बलात्कारी जेल चलान

काठमाण्डु टुडे २०७१ असार ४ गते १३:०५ मा प्रकाशित

खोटाङ, ४ असार–  बालिका बलात्कारको अभियोगमा खोटाङ जिल्ला अदालतले एक युवालाई १० वर्षको कैद सजाय सुनाएको छ ।
१० वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका राखावाङदेल–४ का २६ वर्षीय जापान राईलाई जिल्ला अदालतले १० वर्षको कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको इजलासले कैदबाहेक पीडकबाट ७५ हजार क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । बलात्कार गरेको आरोपमा गत साउन २९ गते उनी बाक्सिला–५ बाट पक्राउ परेका थिए ।

घरमा खेल्दै गरेकी बालिकालाई राईले गत असार २८ गते मकै बारीमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।

यसैबीच सुस्त मनस्थितिकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा बोपुङ–२ का ६० वर्षीय पदमबहादुुर सार्की र ७ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा याम्खा–६ का ५५ वर्षीय हर्कबहादुर विश्वकर्मा जेल चलान भएका छन् ।

जिल्ला अदालत खोटाङको आदेशमा सार्की र विश्वकर्मालाई पुर्पक्षका लागि जिल्ला कारागार शाखा दिक्तेल पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us