उदार आर्थिक नीति भए जर्मन लगानीकर्ता लगानी गर्न इच्छुक

काठमाण्डु टुडे २०७१ असार ४ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, ४ असार – अर्थमन्त्री डा. रामशरण महतले जर्मनीले नेपाललाई विगतमा गरेकोे सहयोगको प्रशंसा गर्दै आगामी दिन सहयोगलाई बढाउन आग्रह गरेका छन् ।

जर्मन राजदूत फ्रेन्क मेकसँग बुधबार अर्थमन्त्रालयमा भएको भेटवार्तामा उनले जर्मनी नेपालको शान्ति प्रक्रियालाई सम्पन्न गरी संविधान निर्माण र आर्थिक विकासमा केन्द्रित भएको र नेपाल सरकार पनि एक वर्षभित्र संविधान जारी गर्ने गरी अगाडि बढिरहेको बताए ।

उनले भने , “दुई तिहाइ बहुमतको सरकार बनेको, नयाँ सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गरी लगानी आकर्षित गरिरहेको, लगानीमैत्री कानूनी संरचना तयार गर्न विधेयक संसदमा पेस गरिसकेकाले अब हामी आर्थिक विकासप्रति केन्द्रित भएका छौं ।”

सो अवसरमा राजदूत मेकले अर्थमन्त्रीलाई संविधानसभाको निर्वाचनपछि जर्मन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र यस सम्वन्धमा सोधखोज गरिरहेको जानकारी गराएका थिए ।
अर्थमन्त्रालयका अनुसार उनले लोकतन्त्र र उदार आर्थिक नीति भएमा लगानीकर्ताहरु नेपालमा आउने सक्ने प्रचुर सम्भावना रहेको जानकारी दिएका थिए ।

ठूला विकास साझेदारका रुपमा रहेको जर्मनीले नेपालको ऊर्जा प्रवद्र्धन, कृषि, सहरी विकास, पर्यटन, मन्दिर तथा स्मारकको संरक्षण, शिक्षा, संस्कृति, फोहर व्यवस्थापन आदि क्षेत्रमा सहयोग गर्दै आएको छ ।

जर्मन सहयोगको दुईवर्षे सहयोग चक्र यसै वर्ष पूरा हुँदैछ । सो अवसरमा राजदूत मेकले आगामी वर्षदेखि नेपालले प्राप्त गर्दै आएको सहयोग बढाउने सोच बनाइएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us