काठमाण्डु, ४ असार– अख्यिार दुरुपयोग अनुसन्धान आयोगले तीन दिनभित्र बन्द रहेको पर्यटन बोर्ड खुलाउन सम्वद्ध पक्षलाई निर्देशन दिएको छ ।
आयोगले तीन दिनभित्र बोर्डको नियमित कार्य सुचारु नगरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र बोर्डका पदाअधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
पर्यटन व्यवसायीले बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई बर्खास्तीको माग गर्दै विगत ५२ दिनदेखि बोर्डको काम ठप्प पार्दै आएका छन् ।
आयोगले बुधबार पर्यटन सचिवलाई पज्ञाचार गर्दै पर्यटकलाई सुविधा दिनुपर्ने निकाय लामो समय बन्द हुँदा पनि मुकदर्शक बनेको र समस्या समाधानका लागि प्रयास नगरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘तीन दिनभित्र समस्या समाधान गरिएमा तालुक मन्त्रालयका पदाधिकारी, नेपाल पर्यटन बोर्डका पदाधिकारीहरु तथा यससँग सम्बन्धित अन्य पदाधिकारीहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम कारबाही अगाडि बढाइने छ’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।