
बर्दिया, ४ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभाबाट एक वर्षमा संविधान बन्नेमा आशंका व्यक्त गरेका छन् ।
आगामी ८ असारमा बर्दिया–१ मा हुने उपनिर्वाचनको प्रचार–प्रसारका क्रममा बाँसगढी बजार पुगेका उनले बुधबार त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधानसभाको समीकरणका कारण संविधान बन्नेमा आशंका गरे ।
एक वर्षभित्र जनपक्षीय सविधान नबने आफ्नो पार्टी आन्दोलनमा जाने चेतावनी उनको थियो । सत्ताधारी काँग्रेस–एमालेमा संविधानसभाबाट संविधान बनाउने तत्परता नरहेको आरोप उनले लगाए । अर्को एक फरक प्रसंगमा उनले आफ्नो पार्टी सधैं जातीय, क्षेत्रीय र वर्गीय रुपमा उत्पीडित जनताका पक्षमा उभिरहने उल्लेख गरे ।
प्रचण्ड उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाइ विजयी गराउन आग्रह गर्दै मतदाताको घरघरमा पुगेका थिए । बर्दिया–१ मा एमाअोवादीले भवनकुमार थारुलाई चुनावी मैदानमा उतारेको छ । सो क्षेत्र एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवम गृहमन्त्री बामदेव गौतमले छाडेका हुन् ।