बैंकिङका लगानीकर्ता बीमामा सर्दै,बीमामा ९७ अंकसम्म वृद्धि

काठमाण्डु टुडे २०७१ असार ४ गते १२:२९ मा प्रकाशित
काठमाण्डु, ०४ असार – बजारमा पछिल्लो समय समूहगत आधारमा सिफ्टिङको अभ्यास बढेको छ । कुनै एक समूहमा लगातार लगानी गर्ने र सानो कारणहरु आउँदा पनि अर्काे समूहमा सिफ्ट भइहाल्ने क्रम उच्च रहेको छ । 
nepseहल्लाको भरमा बजार चलेकोले पनि यस्तो भएको हो, नेपाल स्टक ब्रोकर्स एशोसिएशनका अध्यक्ष नरेन्द्रराज सिजापतीले बताए । 
बजारमा पछिल्लो समय वाणिज्य बैंकहरुले चुक्तापूँजी वृद्धि गर्ने हल्ला चलेपछि यो समूहको परिसूचक नै बढ्ने क्रममा थियो । यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी वृद्धि गर्ने कुनै योजना नरहेको सार्वजनिक गरेपछि बैंकिङ समूह ओरालो लाग्ने क्रममा देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो आवश्यकता अनुसार चुक्ता पूँजी वृद्धि गर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।  मंगलवार बैंकिङ समूहको परिसूचक ९.५८  अंकले घट्दा बीमा समूहको परिसूचक भने ६९ अंकले बढ्यो ।
त्यस्तै, बुधवार बजार खुलेको केही समय पछि ४.७ अंक बढेको बैंकिङ समूहको परिसूचकको २.०८ अंकले घट्दै ६.४२  अंक सम्म तल आयो । अन्त्यमा भने यो सुचक ९.५८ अंकले घट्यो । बीमा समूह भने त्यसको उल्टो ३८ अंक, ९७ अंकसम्म बढ्यो । बजार बन्द हुँदा भने बीमा समूहको वृद्धि ५९.८९ मा सिमित भयो ।  बैंकिङ समूह घटेको फाइदा भने बीमा समूहले पायो ।
लगानीकर्ताहरु अहिले बजारको गति अनुसार सेक्टर सिफ्टमा लाग्ने गरेको ब्रोकरहरु बताउँछन् । बैंकिङ र बिमा समूहमा रहेका कम्पनीहरुको चुक्तापूँजी वृद्धिबारे समय समयमा अड्कलबाजीहरु भइरहेकोले पनि यी समूहमा लगानीकर्ताको ओहोर दोहोर हुने गरेको ब्रोकरहरु बताउँछन् । 
बजारमा अहिले लगानीकर्ताहरु बैंकिङ, जलविद्युत् र बीमा समूहमा बढि ओहोर दोहोर गर्ने गरेको उनीहरुको अनुभव छ । बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि गर्न बीमा समितिले निर्देशन दिने हल्ला पनि बजारमा चल्दै आएको छ । तर समितिबाट हाल कुनै नयाँ निर्देशन आइसकेको छैन ।
यसअघि भने बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई चुक्तापूँजी ५० करोड र निर्जीवन कम्पनीलाई २५ करोड रुपैयाँ पुर्याउन भनेको थियो । अहिले पनि नेको इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स लगायतका केही बीमा कम्पनीहरुले समितिले तोकेको चुक्तापूँजी पुर्याएका छैनन् । यही कारण पनि यी कम्पनीहरुको सेयर मूल्य भने बढ्दो क्रममा देखिन्छ । 
बुधवार नेप्से परिसूचक भने ३.२७ अंकले तल रहेको छ । बैंकिङ समूह घटेपछि नेप्से पनि ओरालो लग्यो । जलविद्युत् समूह पनि २.४९ अंकले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us