बियाँबाट गरिने आलुखेतीमा कृषकको आकर्षण

काठमाण्डु टुडे २०७१ असार ४ गते १२:१८ मा प्रकाशित

म्याग्दी, ४ असार – पहाडी जिल्ला म्याग्दीका कृषक बियाँबाट गरिने आधुनिक प्रविधिको आलुखेतीतर्फ आकर्षित भएका छन् ।

बीउ ढुवानी गर्न सहज, कम लगानी र गुणस्तरीय फल उत्पादन हुने भएकाले बियाँ रोपेर आलुखेती गर्ने प्रविधितर्फ कृषकको आकर्षण बढेको हो ।

परीक्षणका रुपमा प्रयोग गरिएको बियाँबाट आलुखेती गर्ने प्रविधि सफल भएपछि कृषकहरूबाट बियाँ आलुको बीउको माग आउने क्रम बढेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले जानकारी दिए ।

बियाँ बीउलाई सोझै नर्सरी र ब्याडमा बिरुवा उत्पादन गरी लगाउन सकिन्छ । पाँच ग्राम बियाँ बीउले २० वर्ग मिटरलाई पुग्छ भने ४२ देखि ५० किलोग्रामसम्म उत्पादन लिन सकिने प्राविधिक सहायक क्षेत्रीले बताए ।

उहाँका अनुसार खानका लागि स्वादिलो र उपचार गरिएको बीउ भएकाले रोगकिराको समस्या कम भई उत्पादन वृद्धि हुन्छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालयको राष्ट्रिय आलुबाली विकास कार्यक्रमअन्तर्गत पात्लेखेत, भकिम्ली र बाबियाचौरको सिमलचौरमा बियाँबाट आलुखेती गरिएको थियो ।

एचपिएस ७÷६७ जातका उक्त बीउबाट ४० घरधुरी किसानले एक हजार ४१० किलो आलु उत्पादन गरेका थिए । जिल्लाभर यस वर्ष २०० ग्राम बियाँ आलुको बीउ वितरण गरिएकामा आगामी वर्षका लागि सोभन्दा धेरै गुणा बढी बीउको माग आएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us