दुई गाविस पूर्णरुपमा साक्षर

काठमाण्डु टुडे २०७१ असार ४ गते ९:३१ मा प्रकाशित

काभ्रे, ४ असार – काभ्रेपलाञ्चोक जिल्लामा यहाँका दुई गाउँ विकास समिति पूर्णरुपमा साक्षर भएका छन् ।

शैक्षिक सर्वेक्षणबाट जिल्लाको बल्थली र जैसीथोक गाविस पूर्ण साक्षर भएको जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

हामी अब साक्षर भएका गाविसलाई घोषणा गर्ने तयारीमा छौँ र साक्षर उन्मुख भएका २४ गाविसलाई पूर्ण साक्षरतर्फ उन्मुख गराउँदै छाँै काभ्रेपलाञ्चोकका जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

उहाँले पूर्ण साक्षर नभएका गाविसलाई पूर्ण साक्षर बनाउन विद्यालयका विद्यार्थी परिचालनमा जोड दिइएको उल्लेख गर्दै अब त्यसका लागि १० पूर्णाङ्क साक्षरता कक्षासँग जोड्ने तयारी भएको बताए ।
छयालिस हजार २२१ जनालाई जिल्लामा साक्षर बनाइने भनिए तापनि २२ हजार ४५८ जनामात्रै साक्षर भएको जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकको तथ्याङ्कमा उल्लेख छ ।

यी मध्ये आर्थिक वर्ष ०६८÷०६९ मा १२ हजार ४२५ र आर्थिक वर्ष ०६९÷०७० मा १० हजार ३३ जना साक्षर भएका छन् ।

जिल्लाको २४ गाविस र बनेपा नगरपालिका ९० प्रतिशतभन्दा बढी साक्षर भएका गाविसमा रहेका छन् । सरकारले सन् २०१५ सम्ममा सबै निरक्षर नेपाली नागरिकलाई साक्षर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यक्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us