प्रति खिल्ली चुरोटबाट ८८ पैसा कर

काठमाण्डु टुडे २०७१ असार ४ गते ८:०३ मा प्रकाशित

काठमाण्डु, ३ असार– अर्थमन्त्री रामशरण महतले सुर्तीजन्य पदार्थमा उल्लेख्य रुपमा कर वृद्धि गर्न सरकारी निकाय लागि परेको जानकारी दिएका छन् ।

churotप्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले विभिन्न राजनीतिक दलका भातृ संगठनहरुसँग मंगलवार गरेको सुर्तीजन्य पदार्थ नियन्त्रणमा युवाको भूमिका विषयक अन्तरक्रियामा उनले सो धारणा राखेका हुन् ।

नेपालमा सुर्र्तीजन्य पदार्थको कारोबारबाट करिब ९ अर्ब १५ करोड राजस्व संकलन भएको जानकारी दिंदै उनले चुरोटबाट संकलन हुने कुल राजस्वमध्ये अन्तःशुल्कको अंश करिब ५९ प्रतिशत, मूल्य अभिबृद्धि कर १९ प्रतिशत र आयकर करिब २२ प्रतिशत रहेको बताए ।

राजश्वको समीक्षा गर्दा करलाई वृद्धि गर्ने गरेको जानकारी दिंदै उनले सुर्तीजन्य पदार्थमा हुने करलाई एउटा वैज्ञानिक खाका बनाउन भने आवश्यक नै रहेको बताए ।
कर वृद्धि गर्दा यसको उपभोग गर्नेको संख्या घट्दै जाने र रोगीको संख्या घट्दै गइ राज्यले स्वास्थ्यमा पनि बजेट कमैमात्र छुट्याउनुपर्ने आवश्यकता हुने पनि अर्थमन्त्री महतले स्पष्ट पारेका थिए ।

जनता विरामी भएसम्म र स्वास्थ्यमा लगानी गर्नुपर्ने समय नहटेसम्म देशको विकास नहुने भएकाले स्वास्थ्य विगार्ने तत्वमा कर वृद्धिलगायतका उपाय गरी नियन्त्रण गर्दै जानुपर्ने धारणा उनको रहेको छ ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका निर्देशक महाराजा कोइरालाले करको माध्यमबाट सुर्र्तीजन्य पदार्थहरुको मूल्य बृद्धि गर्दा सरकारलाई यथेष्ट मात्रामा राजस्व प्राप्त हुने र मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्युनिकरण गर्न सकिने सम्भावना रहेको उदारहण प्रस्तुत गरे ।

चुरोट सेवन गर्ने व्यक्तिले अन्तःशुल्क तथा मूल्य अभिबृद्धि करवापत प्रति खिल्ली चुरोटबाट ६७ पैसा कर तिर्ने गरेको र सरकारले भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिबृद्धि कर तथा आयकर गरी प्रति खिल्ली चुरोटबाट करिब ८८ पैसा कर संकलन गरेको उनले जानकारी दिए ।

उनले भने, विश्व बैंकको मापदण्ड बमोजिम उपभोक्ता मूल्यको ६५ प्रतिशत कर लगाउनु पर्दछ भने विश्व स्वास्थ्य संगठनले ७० प्रतिशतसम्म कर लगाउनु पर्ने मापदण्ड तोकेको छ । तर नेपाल सरकारले लगाएको औसत ३३.७ प्रतिशत कर ज्यादै न्युन रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us