नौवटा विद्यालय गाभिने

काठमाण्डु टुडे २०७१ असार ४ गते ३:५९ मा प्रकाशित

इलाम, ४ असार – प्राथमिक तहमा विद्यार्थी नै नभएकाले नौवटा विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले नजिकैको विद्यालयमा गाभिने (मर्ज गर्ने) प्रक्रिया अघि बढाएको छ ।

युवा प्रावि साङरुम्वा, जितोदय प्रावि गजुरमुखी, चिवे प्रावि माईमझुवा, सिंहदेवी प्रावि फुएँतप्पा, भवानी प्रावि पञ्चकन्या, कृष्ण प्रावि फिक्कल, बिक्री प्रावि सुम्वेक, कृष्णज्योति प्रावि बाँझो र महेन्द्ररत्न प्रावि पशुपतिनगरलाई नजिकका विद्यालयमा एकैपटक गाभिने जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताए । जिल्ला शिक्षा कार्यालयले ती विद्यालयलाई स्पष्टीकरण सोधेको छ ।

विद्यालयको जवाफ र स्रोतव्यक्तिहरूको प्रतिवेदनको आधारमा शिक्षा समितिबाट निर्णय गरेर ती विद्यालयलाई गाभिन्छ, जिशिअ पुरीले बताए । बिक्री प्रावि र कृष्णज्योति प्राविमा यस शैक्षिकसत्रमा एकजना पनि भर्ना हुन आएनन् । ‘अन्य विद्यालयमा तीन÷चारजनाभन्दा बढी विद्यार्थी भर्ना नहुँदा गाभिुपरेको हो ’ जिशिअ पुरी भन्छन् । विद्यालयमा २२ जना शिक्षक कार्यरत छन् ।

विद्यार्थीहरूलाई नजिकको विद्यालयमा पठनपाठनको व्यवस्था जिशिकाले मिलाउने भएको छ । त्यहाँ कार्यरत शिक्षकलाई आवश्यकताअनुसार नजिकका विभिन्न विद्यालयमा खटाइने भएको छ । विद्यार्थी नभई बन्द हुने स्थितिमा पुगेका १० प्राथमिक विद्यालयलाई दुई वर्षअघि नै जिशिकाले गाभिसकेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us