
काठमाण्डु, ४ असार – एकबर्षदेखि अवरुद्ध बाँकेको सिक्टा सिंचाई आयोजनाको काम पुनः सुरु भएको छ । मुआब्जा विवादका कारण गत वर्र्षदेखि निर्माण कार्य रोकिएको बाँकेको सिक्टा सिँचाइमा जग्गाधनीसँगको सहमतिपछि काम शुरु भएको हो ।
पूर्जावाल जग्गाधनीलाई यसअघि निर्धारण गरिएको मुअब्जामा २३ प्रतिशत रकम थप गरिदिने आयोजनाको प्रस्तावमा जग्गाधनी सहमत भएका हुन् । बाँकेको करिब ४३ हजार हेक्टर खेतियोग्य जमिन सिँचाइ गर्ने उद्देश्यका साथ दशक अघिदेखि निर्माण थालिएको सिक्टा सिँचाइको मूल नहर निर्माणको क्रममा १५ देखि ३५ किमिको खण्डमा मुआब्जा विवादले गतवर्र्षदेखि काम रोकिएको थियो ।
मुआब्जामा सहमति जुटेपछि निर्माण कार्य पुन शुरु भएको मुआब्जा निर्धारण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी जीवनकुमार ओलीले बताए । काम शुरु भएपछि प्रमुख जिल्ला अधिकारी, सिक्टा सिँचाइ आयोजना प्रमुख, प्रहरी टोली लगायतको टोलीले आयोजनाको स्थलगत निरीक्षण समेत गरेका छन् ।