
काठमाण्डु, ४ असार – परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बेलायत र बोलिभिया भ्रमण मुलुकको बाह्य सम्बन्ध सुदृढ तुल्याउन फलदायी भएको बताएका छन् ।
बेलायतका परराष्ट्रमन्त्री विलियम हेग र बोलिभियाका राष्ट्रपतिको निमन्त्रणामा ‘जी ७७ र चीन’ ५० औँँ वार्षिकोत्सवमा भाग लिएर मन्त्री पाण्डे आज स्वदेश फर्केका हुन् ।
पाण्डेले यही गत जेठ २८ देखि ३० सम्म लन्डनमा भएको ‘द्वन्द्व यौन हिंसा अन्त्य’ विषयक सम्मेलनमा द्वन्द्वकालीन परिस्थिति तथा अन्य समयमा समेत महिला तथा बालबालिका एवम् पुरुषसमेतलाई यौन हिंसाको सिकार हुनबाट बचाउने, यौन हिंसामा विश्वव्यापी रुपमा शून्य सहनशीलता कायम गर्ने, पीडकलाई राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनको कठघरामा ल्याउन प्रोत्साहन गर्ने र उनीहरुलाई राहत, क्षतिपूर्ति र भरणपोषणको व्यवस्था मिलाउने, यौन हिंसामा दण्डहीनता अन्त्य गर्ने, युद्धकालमा नागरिकको प्रतिरक्षा गर्नुपर्ने विषय प्राथमिकतासाथ उठाएको जानकारी दिए ।
नेपालले महिलाविरुद्ध हुने घरेलु हिंसा र लैङ्गिक हिंसाका विरुद्धमा शून्य सहनशीलताको नीति अवलम्बन गरेको, लैङ्गिक सन्तुलन तथा महिला सशक्तीकरण, महिला र बालिकाहरुको बेचबिखन र ओसारपसारविरुद्धको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्दै आएको सम्मेलनमा जानकारी गराएको मन्त्री पाण्डेले बताए ।
बेलायतमा रहँदा आफूले बेलायत सरकारका वरिष्ठ अधिकारीहरुका साथै लन्डन विश्वविद्यालयका उपकुलपति, बेलायत–नेपाल समाजका अध्यक्ष, बेलायत–नेपाल उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गरी द्विपक्षीय प्राज्ञिक, आर्थिक एवम् पारस्परिक हित प्रवद्र्धन र नेपाल–बेलायत सम्बन्ध विस्तारका बारेमा छलफल गरेको जानकारी दिए ।