कम्युनिष्ट एकता हुन्छ: प्रचण्ड

काठमाण्डु टुडे २०७१ असार ३ गते १५:२७ मा प्रकाशित

सुर्खेत, ३ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट एकताको पहल सुरु भएको बताएका छन् ।
prachandaक्रान्तिकारी पत्रकार संघ, सुर्खेतले वीरेन्द्रनगरमा मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रचण्डले नेकपा–माओवादीसहित केही कम्युनिष्ट पार्टीहरुसँग कार्यगत एकता तथा सहकार्यका लागि औपचारिक रुपमै छलफल सुरु भइसकेको भन्दै यो नै एकताको आधार भएको दाबी गरे ।

‘अहिले केही कम्युनिष्ट पार्टीहरुसँग हाम्रो छलफल भएको छ,’ प्रचण्डले भने, ‘यो कार्यगत एकता मात्रै होइन कम्युनिष्ट एकताको आधार हो, कम्युनिष्ट एक हुन्छन्  ।’ नेकपा–माओवादीसहित केही कम्युनिष्टहरुसँगको कार्यगत एकताको निर्णय आगामी असार सात गते औपचारिक निर्णय हुने भन्दै उनले त्यसपछि अन्य कम्युनिष्टलाई पनि ल्याउने पहल गरिने बताए ।

कार्यगत एकता र कम्युनिष्ट एकताका लागि एमाले समेत सहमत हुने दाबी उनको थियो । पत्रकार सम्मेलनमा प्रचण्डले तोकिएकै समयमा संविधान नबने देश ठूलो दुर्घटनामा जाने बताए ।

‘सहमतिको योजनासहित राजनैतिक दलहरु अगाडि बढेको खण्डमा संविधान बन्छ’, उनले भने, ‘तर काँग्रेस र एमालेले आफ्नो अडानमा लचकता नअपनाए संविधान बन्न सक्दैन, संविधान नबने देश ठूलो दुर्घटनामा जान्छ ।’
राज्य पुनसंरचना र शासकीय स्वरुपमा पनि सबै दलहरु पूर्वअडानमा लचक भए सहमति हुने भन्दै संविधान निर्माणमा काँग्रेस–एमाले बढी जिम्मेवार हुनुपर्ने बताए । अर्को फरक प्रसंगमा लामो समयसम्म २६ सभासद् मनोनित हुन नसक्नु दु:खद भएको भन्दै उनले  त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

पार्टीको भेरी–कर्णाली राज्य समितिस्तरीय प्रशिक्षणमा सहभागी हुन उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर वोगटी, महासचिव कृष्णबहादुर महरा, स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतसहितका नेताका साथ सुर्खेत पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us