रवीन्द्र श्रेष्ठको ‘उदास शनिबार’ : एक पूर्वाग्रही उपन्यास

काठमाण्डु टुडे २०७१ असार ३ गते ११:१५ मा प्रकाशित

रवीन्द्र श्रेष्ठ कुनै आम नागरिक थिएनन् र होइनन् । आम नागरिक त ती हुन, जो कुनै विशेष शक्ति वा आन्दोलनसँग आवद्ध नभइकन एकसरो जीवन चलाइरहन्छन् । yuvaraj chaulagaiकुनै जमानाका चल्तापूर्जा भूमिगत माओवादी नेता, पछि घनघोर माओवादीविरोधी, कालान्तरमा नेपाल सरकारका क्याबिनेट मन्त्री – उनको होलसेल परिचय यही हो ।

सामान्य मान्छे भन्दा अलग र विशेष जीवन बिताएका यस्ता अगुवाबाट समाजलाई कम्तिमा यत्ति अपेक्षा हुन्छ–उनीहरुको भोगाइ र अनुभवहरुबाट समाजमा केही न केही सकारात्मक प्रतिफल मिलोस, उनीहरुका जीवनका उकाली ओरालीहरुबाट आम मान्छेको जिन्दगीको सकसमा केही भए पनि सकरात्मक उर्जा प्राप्त होस् ।

udas sanibarudas sanibar2तर, उनको हालै प्रकाशित उपन्यास ‘उदास शनिबार’ पढी सिध्याएपछि यस्तो लाग्छ , रवीन्द्र श्रेष्ठ समाज र मानवप्रति कत्ति पनि संवेदनशील र उत्तरदायी छैनन् ।  उनको दिमागमा फोहोरको डंगुर मात्र छ र उनी सिंगो समाजका यावत क्रियाकतलापलाई एक पोर्नोग्राफी मात्र सम्झन्छन् ।
२३२ पेज लामो ‘उदास शनिबार’ मा शहरीया उच्च मध्यम वर्गकी अनुराधाको जीवन अनुभूति प्रस्तुत गरिएको छ । पूर्वमाओवादी नेता सञ्जय उपन्यासका नायक हुन् । जनयुद्धको पृष्ठभूमिसहित प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई, बादल, शीतलकुमार, जनार्दन शर्मा, लोकेन्द्र विष्टमगर, हिसिला यमी, सीता दाहाल, पम्फा भुसाल, हितमान शाक्य, टोपबाहादुर रायमाझी र उनकी श्रीमती, प्राय: उच्च नेताका श्रीमतीहरु, सूर्य सुवेदीजस्ता माओवादी नेताहरुलाई उपन्यासमा पात्र बनाइएको छ ।  भनिरहनु परोइन उपन्यास मओवादी नेताहरुलाई खसी पार्ने र माओवादीलाई नपुंसक करार गर्ने योजना र आकांक्षा अनुरुप लेखिएको छ ।
क्षेत्री परिवारकी अनुराधा अष्ट्रेलिया गएको आफ्नो प्रेमी उदयले उतै अर्को बिहे गरेर आफूलाई धोका दिएको खवरले विक्षिप्त छे ।  काठमाण्डुको एक रेष्टुरेण्टमा बियर खाएर आत्महत्याको सोच बनाउँदै गर्दा पूर्वमाओवादी नेता सञ्जयसँग उसको त्यही रेष्टुरेण्टमा भेट हुन्छ । बिस्तारै उनीहरु नजिक हुन्छन्, पश्चिम पहाडको एक गाउँस्थित सञ्जयको घरमा गएको बेलामा दुवैको प्रेम उत्कर्षमा पुग्छ र शारीरिक सम्पर्कसमेत हुन्छ ।  त्यही गाउँमा हैजाको महामारीका कारण सञ्जयको मृत्यु हुन्छ । अनुराधा सञ्जयलाई दाग बत्ती दिएर काठमाण्डु फर्कन्छे । विजय नामको अर्को केटासँग विबाह गर्छे । ऊ साहित्यकार बन्छे र सफल पनि बन्छे । उपन्यासको सग्लो कथा यत्ति नै हो ।
तर बीचबीचमा ‘फ्ल्यास ब्याक’ शैलीमा विभिन्न उपकथाहरुले उपन्यासलाई राजनीतिक आवरण दिइराख्छ ।  यस्ता सबैजसो कथाहरु माओवादी जनयुद्धलाई जनविरोधी करार गर्न, नेताहरुको उछित्तो काढ्न र दर्जनौं यौन प्रसंगहरुको चर्चा गर्नमा खर्च गरिएका छन् । प्रचण्डले म:म: खाने पाटन ढोकाको पसल, उनी डेरा बस्ने बंगलामुखीको थोत्रो घर, उनले रक्सी खाने भट्टी र भित्तो समात्दै आउने बाटो, रोल्पामा उनले खाजा खाने पसल, दिल्लीमा उनका बसाई र खुवाई आदि प्रसंगहरु कथा शैलीमा सर्बत्र उल्लेखित छ । प्रचण्ड सुरुदेखि नै ढोंगी र फजुल खर्ची थिए, जनताप्रति कत्ति पनि उत्तरदायी थिएनन् भनेर उनले प्रसस्त शब्द खर्च गरेका छन् ।

त्यस्तै गरी माओवादी जनयुद्धमा कार्यकर्ताको भावना ठीकै भए पनि नेताहरु र आन्दोलन पूर्णत: गलत एक प्रहसन मात्र थियो भन्ने देखाउन खोजेका छन् ।
उपन्यास भनिए पनि यसलाई ऐतिहासिकता दिने प्रयत्न र पाठक वर्गमा गम्भीर भ्रम पैदा गर्ने मनासय जताततै प्रष्ट देखिन्छ । नेपालका कम्युनिष्ट आन्दोलनका ती नेताहरु, जोसँग विगतमा आफूले लामो समय सहकार्य गरियो, तिनलाई बदनाम गर्नमा उनले जति धेरै अनावश्यक जोडबल गरेका छन्, उनको व्यक्तित्व त्यत्ति नै हल्का र लिलिपुट हुँदै गएको प्रष्टै देखिन्छ ।

संजय जस्तो पात्रलाई उपन्यासको नायक बनाएका श्रेष्ठको दृष्टिकोणमा चरम व्यक्तिवाद र विघटन उन्मुख अस्तित्ववाद छर्लङ्ग देखिन्छ ।  मेरो अनुभूतिमा श्रेष्ठले काल्पनिक रुपमा उभ्याएका पात्र सञ्जय अरु कोही नभएर स्वयम् उनकै प्रतिरुप हो । विगतको माओवादी र अहिले एकल रुपमा आन्दोलनबाहिर बसेको व्यक्ति उनी आफैं हु । जनयुद्धका बारेमा सञ्जयले भनेका कुनै पनि कथाहरु जनयुद्धबारे उनले गरेको स्मरण वा मूल्याङ्कन मात्र हो ।  उपन्यास भनेर काल्पनिक पात्रका केही नाम दिइए पनि माओवादी नेताहरुका बास्तविक नामसहित कथा बनाउनुले उनको गलत मनासय र विघटित वर्ग चरित्रलाई राम्रोसँग उजागर गर्दछ ।  सही त त्यतिबेला हुन्थ्यो, जब उनले यसलाई इतिहासका रुपमा प्रस्तुत गर्थे र त्यसका एक खुलापात्र उनी स्वयम् पनि हुन्थे ।
उपन्यासको अर्को आलोचना गर्नुपर्ने पाटो उनको यौनसम्बन्धी दृष्टिकोण हो ।  २३२ पेज लामो उपन्यासमा श्रेष्ठले करिब दर्जन बढी ठाउँमा यौन सम्बन्धको भद्दा बर्णन गरेका छन् । बलात्कारजस्तो जघन्य घटनालाई पनि उनी अत्यन्त सामान्य रुपमा पेश गर्दछन् । माओवादी समर्थक आमा–छोरीमाथि प्रहरीले गरेको यौन हिंसा वा सेन्ट्री बसिरहेकी छापामार महिलालाई अर्को पुरुषले गर्न खाजेको बलात्कारका घटना प्रस्तुति अत्यन्त कमजोर र तल्लोस्तरका छन् ।  त्यस्तै मकै बारीभित्रको एक जोडीको यौन, बुइगलको यौन आदि/इत्यादि अनावश्यक यौन सामग्रीहरुले उनको उपन्यासलाई ‘सी ग्रेड’ का पुराना भारतीय सिनेमाजस्तै स्तरहीन बनाइदिएको छ ।
लेनिन भन्नु हुन्थ्यो, ‘संशोधनवाद कुहिएको अण्डाजस्तै हो ।’

त्यो न राख्न मिल्छ, न खान तर झट्ट हेर्दा त्यो कुहिएको जस्तो लाग्दैन । आफू कुहिसकेको कुरा बिचरा श्रेष्ठले भुलिसकेका छन् भन्ने उपन्यासमा देखिन्छ । सायद त्यही भएर होला उनी आफ्नो बारेमा भन्छन्, ‘प्रचण्ड र बाबुरामले जनसेना र हतियार समर्पण गरेर क्रान्तिलाई धोका दिन लागेको भन्दै रवीन्द्र र मणिले विद्रोह गरे ।….दुवैले चाहेको भए प्रचण्डलाई मृत्यृदण्डको सजाय दिन गाह्रो थिएन । किनकी दुवै जना सक्षम युवा नेता थिए ।

…… रवीन्द्र र मणि त्यति मूर्ख र प्रचण्डजस्तै तुच्छ स्तरका निकृष्ट थिएनन् ।  उनीहरुको विद्रोह वैचारिक थियो ।’ (पेज १३९) माओवादीजस्तो क्रान्तिकारी पार्टीको त के कुरा एमालेले समेत कारबाही गर्नुपर्ने उनी कति वैचारिक, स्तरीय र क्षमतावान थिए, सबैलाई थाहा भएकै कुरा हो । उपन्यास भर जताततै प्रचण्ड र बाबुरामलाई आत्मसमर्पण गरेको देखाउन बल गरेका रवीन्द्र श्रेष्ठले आफूतिर नफर्की गरेको सस्तो नकारात्मक आवेगलाई राजनीतिक वेश्यावृत्ति नभनेर के भन्ने ?
अन्त्यमा, माओवादी जनयुद्धलाई नेता र कार्यकर्तामा अलगअलग गरेर टुक्रा पार्ने र समग्र जनयुद्धलाई बदनाम गर्ने लेखकको नियत वस्तुवादी नभई पूर्णत: एकांगी र निषेधात्मक देखिन्छ ।

उनको यो लिलिपुट हर्कतले जनयुद्धको ऐतिहासिकतालाई त किमार्थ कमजोर पार्न सक्दैन नै , उनको धेरथोर सामाजिक मूल्यलाई पनि माटोमा मिलाउने छ ।  त्यस्तै, उनले यो उपन्यास समाज वा आम मान्छेलाई कुनै योगदान गर्ने उद्देश्यले लेखेको देखिँदैन ।  निराशा, कुण्ठा, पलायन, मृत्युभन्दा बढी सिंगो उपन्यासमा केही पनि छैन ।  उपन्यासले सामाजिक रुपले कुनै सकारात्मक भूमिका खेल्न सक्दैन । यसको सन्देश नकारात्मक र ध्वंशात्मक छ ।
सम्भव छ भने रवीन्द्र श्रेष्ठले बलिदानीपूर्ण आन्दोलनहरु र समाजको नाममा यस उपन्यासप्रति आत्मालोचना गरुन †

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us