डलरको अवमूल्यनले आयल निगमलाई राहत, घाटा १२ करोडमा सिमित

काठमाण्डु टुडे २०७१ असार ३ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, ३ असार–  नेपाल आयल निगम झण्डै ‘ब्रेक इभन’मा आइपुगेको छ ।

nocजुन १ मा इण्डियन आयल कर्पोरेशनले पठाएको मूल्य सूचिअनुसार मासिक २८ करोड घाटाको प्रक्षेपण गरेको निगमले जुन १६ को मूल्यसूचीमा मासिक १२ करोड घाटा हुने सार्वजनिक गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार आयल निगम खाना पकाउने ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको विक्रीमा नाफामा छ । आयल निगमले खाना पकाउने ग्यासमा मासिक ८४ करोडको घाटा प्रक्षेपण गरेको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको कमि र डलरसँगको विनिमयमा नेपाली मुद्रा बलियो भएपछि घाटा कम भएको हो । तर केही दिनदेखि इराकमा चलिरहेको हिंसात्मक द्वन्द्वले भने आयल निगमको यो खुशीलाई लामो समय टिकाउने सम्भावना देखिएको छैन् ।

प्रतिव्यारेल १०८ डलरसम्म झरेको पेट्रेलियम पदार्थ केही दिनदेखि बढेर ११३ डलर माथि पुगेको छ । पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय मूल्य यो तह वा योभन्दा माथि गए पेट्रोलियम पदार्थमा आयल निगमको घाटा चुलिनेछ ।

नयाँ मूल्यसूचीअनुसार आयल निगमलाई डिजेलमा पनि नाफा हुन थालेको छ । निगमले प्रतिलिटर चार रुपैयाँसम्म व्याजखर्च छुट्टयाउँदा पनि ४२ पैसा नाफा छ । मासिक ७५ हजार किलोलिटर डिजेल बेच्ने निगमले यहाँबाट मासिक तीन करोड १३ लाख रुपैयाँ नाफा कमाउनेछ ।

निगमलाई पेट्रोलमा दश रुपैयाँ २२ पैसाको नाफा छ । यसबाट निगमले मासिक २० करोड ४४ लाख रुपैयाँ मुनाफा गर्नेछ ।

त्यसैगरी मट्टितेलबाट मासिक तीन करोड ४७ लाख, हवाई इन्धन आन्तरिकबाट मासिक ११ करोड ७० लाख र अन्तराष्ट्रियबाट ३२ करोड ३४ लाख मुनाफा कमाउनेछ ।

निगमलाई प्रतिसिलिण्डर ग्याँसमा ५५९ रुपैयाँ घाटा छ । यसबाट निगमले मासिक ८३ करोड ९६ लाख रुपैयाँ घाटा उठाउनुपर्दछ । ३७ अर्ब रुपैयाँ ऋणमा रहेको निगमले सरकारसँग साढे १२ अर्ब, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग २१ अर्ब र स्थानीय बाणिज्य बैंकसँग साढे दुई अर्ब रुपैयाँ ऋण लिएको छ ।

निगमले यो ऋणका लागि मात्रै मासिक करोडौं रुपैयाँ व्याज बुझाउँदै आएको छ । यसले निगमको ऋण भार अझ बढाउँदै लगेको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us