बिरामी ओलीले पार्टी चलाउन सक्दैनन्: पन्त

काठमाण्डु टुडे २०७१ असार ३ गते १०:३७ मा प्रकाशित

काठमाण्डु, ३ असार– एमाले नेता रघुजी पन्तले अस्वस्थ अवस्थाका केपी ओलीले पार्टीको नेतृत्व गर्न नसक्ने बताएका छन् ।
raghu pantaरिपोर्टर्स क्लबमा मंगलबार भएको कार्यक्रममा अध्यक्षका अर्का प्रत्यासी माधव नेपाल निकट पन्तले अस्वस्थताका कारण  ओली अध्यक्ष बन्न नसक्ने भन्दै स्वस्थ भएपछि प्रधानमन्त्री वा राष्ट्रपति बनाउनु पर्ने बताए ।

ओलीले अस्वस्थताकै कारण संसदीय दलको बैठकको अध्यक्षता समेत गर्न नसकेको उल्लेख गर्दै उनले पार्टी नेतृत्व गर्न नसक्ने भएकाले माधवकुमार नेपाल सर्वसम्मत रुपमा अध्यक्ष बन्ने दाबी गरे । ‘केपी ओलीले संसदीय दलको अध्यक्षता गर्न सक्नु भएको छैन ।  न केन्द्रीय समितिको बैठकमा उस्थित हुन सक्नु हुन्छ । कुनै कार्यक्रममा लानु परे पनि पूरै स्टेजभरी औषधी छरेर मात्र लानु पर्छ ।

मुलुक जटिल अवस्थामा रहेको यो बेलामा उहाँले कसरी पार्टीको नेतृत्व गर्न सक्नु हुन्छ ? पन्तले भने । छैठौं महाधिवेशनदेखि नै नेपालले पार्टीको विचारलाई समृद्ध बनाउने कामको नेतृत्व गर्दै आएको र उनकै पालामा जनताको बहुदलीय जनवाद मुल सिद्धान्तका रुपमा कार्यान्वयनमा भएको दाबी समेत गरे ।

ओली पक्षीय केन्द्रीय सदस्य रघुवीर महासेठले केपी ओली विचारमा स्वस्थ भएका विचारक नेता भएको बताए । माधवकुमार नेपाल कहिल्यै पनि विचारक नभई विचारकका सहयोगी मात्र भएकोले पार्टीको नेतृत्व गर्न नसक्ने दाबी उनले गरे ।

उनले झापा आन्दोलनदेखि नै ओलीको विचारमा अहिलेसम्म पार्टी चलेको उल्लेख गर्दै जवज निर्माणमै मदनभण्डारीलाई सहयोग गर्ने नेता भएकोले पार्टीको नेतृत्व गर्न उनी नै सक्षम रहेको तर्क गरे ।

माधवकुमार नेपाल संकुचित र रुढीवादी स्वभावको भएकाले पार्टीलाई एकताबद्ध गरेर लैजान पनि ओलीले नेतृत्व गर्नुपर्ने तर्क गर्दै मुलुक अर्ध सामन्ती अवस्थामा रहेको, क्रान्ति पुरा नभएकाले उग्रवामपन्थ र दक्षिणपन्थीसँग लड्न पनि अडान भएको ओलीको नेतृत्व आवश्यक रहेको दाबी गरे ।
अध्यक्ष झलनाथ खनाल पक्षीय केन्द्रीय सदस्य पशुपति चौलागाईले पार्टीभित्र विचारमा एक मत भएको तर नेतृत्वमा मात्र विवाद बाँकी रहेको भन्दै जनताको बहुदलीय जनवादको कार्यदिशा र पुर्नपुष्टि गर्ने काम माधवकुमार नेपालले गरेकाले उनकै नेतृत्वमा अझै शसक्त बनाउनु पर्नेमा जोड दिए । उनले सर्वसम्मत भए अध्यक्षमा झलनाथ खनाल आफैंले पुन: नेतृत्व गर्ने भन्दै सहमति हुन नसके माधवकुमार नेपाललाई समर्थन गर्ने स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us